एनसेलको आम्दानी घटेसँगै प्रति ग्राहक औसत आम्दानी पनि घट्यो, सेवाग्राही समेत गुमायो

  • Technology Khabar | १२ भाद्र २०७७, शुक्रबार
एनसेलको आम्दानी घटेसँगै प्रति ग्राहक औसत आम्दानी पनि घट्यो, सेवाग्राही समेत गुमायो
पुल्चोकमा रहेको हिमालयन जाभाको कफी कपमा रहेको एनसेलको लोगो । फाइल तस्बिर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजीयाटा लिमिटेडको आम्दानीसँगै प्रति ग्राहक आम्दानी समेत घटेको देखिएको छ ।

कोभिड-१९ को महामारीले कम्पनीको समग्र आम्दानीमा कमी आएसँगै कम्पनीको प्रति ग्राहक आम्दानीमा समेत कमी देखिएको हो ।

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजीयाटाले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार कम्पनीले दोस्रो त्रैमासमा प्रति ग्राहक औसत आम्दानी उच्च मात्रामा गुमाएको देखिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२० को दोस्रो त्रैमासमा कम्पनीको प्रति सेवाग्राही औसत आम्दानी पोष्टपेडको २५९ रुपैयाँ रहेको छ भने प्रिपेड सेवाको प्रति सेवाग्राही औसत आम्दानी १८९ रुपैयाँ रहेको छ ।

यसअघि पहिलो त्रैमासमा यस्तो औसत ग्राहक आम्दानी पोष्टपेडमा ३९० रुपैयाँ थियो भने प्रिपेडमा २३० रुपैयाँ रहेको थियो ।

कम्पनीले ३ महिनाको अवधिमा नै पोष्टपेडमा प्रति ग्राहक औसत आम्दानी १३७ रुपैयाँ गुमाएको छ भने प्रिपेडमा ४१ रुपैयाँ गुमाएको छ ।

कम्पनीसँग हाल पोस्टपेडमा ४ लाख ७८ हजार सेवाग्राही छन भने प्रिपेडतर्फ १ करोड ५४ लाख ४४ हजार सेवाग्राही रहेका छन् ।

सेवाग्राहीको संख्यासमेत पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा घटेको देखिएको छ।

पहिलो त्रैमासमा पोष्टपेडतर्फ कम्पनीले ३ लाख १५ हजार ग्राहकहरुमा १ लाख भन्दा बढि ग्राहक बढाए पनि कम्पनीको प्रिपेडका ग्राहकहरुको संख्या भने उच्च रुपमा घटेको देखिन्छ ।

प्रतिवेदनअनुसार पहिलो त्रैमासमा १ करोड ६८ लाख ५७ हजार प्रिपेड ग्राहकहरु थिए भने त्यसमा करिब १२ लाख ग्राहक घटेका छन् ।

अझ वार्षिक तुलना गर्दा सोहि अवधिमा सन् २०१९ मा पोस्टपेड तर्फ ५५९ रुपैयाँ प्रति ग्राहक औसत आम्दानी थियो भने प्रिपेडतर्फ प्रति ग्राहक औसत आम्दानी २८२ रुपैयाँ रहेको थियो ।

आम्दानीतर्फ समेत कम्पनीले दोस्रो त्रैमासमा अघिल्लो वर्षको तुलनामा करिब ५ अर्ब रुपैयाँ गुमाएको छ ।

यो पनि हेर्नुस्

एनसेलको आम्दानीमा कोभिडको असर, दोस्रो त्रैमासमा २ अर्ब ४९ करोड रुपैयाँले कमी

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार