आफ्ना कर्मचारीहरुको पीसीआर परीक्षण गराउँदै नेपाल टेलिकम, टेण्डरबाट प्रयोगशाला खोजिँदै

  • Technology Khabar | ६ भाद्र २०७७, शनिबार
आफ्ना कर्मचारीहरुको पीसीआर परीक्षण गराउँदै नेपाल टेलिकम, टेण्डरबाट प्रयोगशाला खोजिँदै
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना कर्मचारीहरुको कोभिड-१९ को परीक्षण गराउने भएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले हालै सार्वजनिक सूचना जारी गर्दै  कर्मचारीहरुको पीसीआर परीक्षण गराउनका लागि टेण्डर माग गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यका भित्र र उपत्यका भन्दा बाहिरका कर्मचारीहरुको लागि छुट्टाछुट्टै रुपमा पीसीआर कोभिड-१९ परीक्षण गर्न लागेको हो ।

यसअन्तरगत सो पीसीआर परीक्षण गर्ने कम्पनीहरुसँग आवेदन माग गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अत्यावश्यक कार्यमा खटिएका कर्मचारीहरुलाई पहिलो चरणमा पीसीआर परीक्षण गर्नेगरि टेण्डर जारी गरिएको जानकारी दिए।

‘हाम्रा फ्रन्टलाइनमा कामगर्ने कर्मचारीहरु जोखिममा रहेको हुँदा उनीहरुलाई सुरक्षित गर्नका लागि पीसीआर टेस्ट गर्न लागेका हौं, पहिलो चरणमा उपत्यका भित्र र बाहिरका गरेर २ हजार कर्मचारीहरुको परीक्षण गर्नेछौं,’ प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार पहिलो चरणमा अहिले फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीहरु, सिस्टममा निरन्तर खटिनुपर्ने र फिल्डमा काम गर्ने कर्मचारीहरुलाई परीक्षण गरिनेछ ।

यसअघि ४जीको कोर सिस्टममा खटिएका कर्मचारीको पिसिआर परीक्षण गरेको ४ दिनमा पनि रिपोर्ट नआउँदा उनीसँगका अन्य कर्मचारीहरु अझै आइसोलेसनमा रहेको र त्यसले सेवा संचालनमा कठिनाई हुनसक्ने देखिएको भन्दै अधिकारीले छिटो परीक्षण गराउन टेण्डर खोलेको जानकारी दिए ।

दूरसञ्चार सेवा अत्यावश्यक सेवामा पर्ने र त्यसको सिस्टमलाई चुस्त/दुरुस्त राख्न पनि छिटो काम गर्नुपर्ने भएको हुँदा कम्पनी आफैंले परीक्षण गराउन लागेको बताए ।

यसअघि कम्पनीले आफ्ना सबै ४१ सय कर्मचारीहरुको कोभिड-१९ विरुद्धको १ लाख रुपैयाँ बराबरको बीमा गराईसकेको छ ।

प्रकाशित: ६ भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ६ भाद्र २०७७, शनिबार