
काठमाडौं ।
काठमाडौं, ९ फागुन /ललितपुरस्थित कृषि विकास वहुउद्देश्यीय सहकारी संस्थाले विषादी प्रयोग नभएको ८० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका तरकारी उत्पादन गरेर एउटै ब्राण्डमा बिक्रि गर्न सुरु गरेको छ। ‘कृषि फ्रेस विषादीरहित उत्पादन’ भन्ने ब्राण्डमा उक्त संस्थाले आफैले उत्पादन गरेको ८० प्रकारको प्रशोधित खाद्यान्न (चामल, दाल, गेडागुडी, मसला, पिठो), ६० प्रकारको तरकारी तथा साग, तोरीको तेल र दूध बिक्रि गर्न सुरू गरेको हो।
बिषादीयुक्त तरकारी तथा खाद्यान्नको बजार फैलिरहँदा उक्त संस्थाले बिषादी प्रयोग नभएको तरकारी तथा खाद्यान्न उत्पादन गरेर बिक्रि गर्न सुरु गरेको जनाएको छ । अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त संस्थाले औपचारिक रुपमा विषादी प्रयोग नभएको खाद्यान्न तथा तरकारी बिक्रि बितरण गर्न लागेको सार्वजनिक रुपमा घोषणा गरेको छ। यसअघि चार बर्षदेखि उक्त संस्थाले सोही ब्राण्डमा विषादी नभएको तरकारीमात्रै बिक्रि गर्दैआएको थियो। शनिबारदेखि खाद्यान्नसमेत बिक्रि गर्न सुरु गरेको हो ।
संस्थाका अध्यक्ष तेजबिक्रम थापाले ललितपुरको टिकाथलीमा दुई सय रोपनी जग्गामा आफै विषादी प्रयोग नगरि यस्ता खाद्य पदार्थ उत्पादन गर्दैआएको जानकारी दिए । अध्यक्ष थापाकाअनुसार उपभोक्ताले उचित मूल्य तिरेर पनि शुद्ध खाद्यान्न र तरकारी किन्न नपाएकाले विषादीमुक्त खाद्यान्न र तरकारी उत्पादन गरेर बिक्रि गर्न सुरू गरिएको हो। उत्पादित खाद्यान्न, तरकारी तथा तेल र दूध भाटभटेनी सुपरमार्केट, नाफा सहकारी संस्था, कृषि गुरू अर्गानिक स्टोरमार्फत राजधानीको गल्फुटार, महाराजगञ्ज, चावहिल, लगनखेल, सानेपामा बिक्रि बितरणसम्बन्धी व्यवस्था गरिएको छ।
राजधानीको पाँच स्थानमा थप बिक्रि केन्द्र स्थापना गरेर बिक्रि गर्ने लक्ष्य राखिएको अध्यक्ष थापाले बताए। ‘उपभोक्ताले विषादीयुक्त तरकारी र खाद्यान्न खरिदका लागि थप व्ययभार व्यहोर्नुपर्दैन्। बजारमा भएको मूल्यमै यस्ता पदार्थ उपलब्ध गराएका छौं,’ उनले भने,’विषादी परीक्षणका लागि छुट्टै हामीले आफै दक्ष जनशक्तिसहितको ल्याव स्थापना गरेका छौं। उत्पादित खाद्य, तरकारी, तेल र दूधको ल्यावमा परीक्षण गरेर मात्र बजारमा बिक्रिका लागि पठाउने व्यवस्था गरेका छौं।’
कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा हिमाली, पहाडी र तराईका केही जिल्लामा उत्पादन भएका खाद्यान्न संकलन गरेर बिराटनगरस्थित शाखा कार्यालयमा प्रयोगशालाको सहयोगमा परीक्षण गरेपछि थप परीक्षण तथा प्याकिङका लागि काठमाडौं भित्र्याइन्छ। करिब आठ करोडको लगानीमा संस्थाले यस्ता उत्पादन, प्याकेजिङ र बिक्रि गर्ने व्यवस्था मिलाइएको छ। यस्ता कामका लागि तीन सय जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएको संस्थाले जनाएको छ।
गत बर्ष मात्रै उक्त संस्थाले एक करोड ९५ लाख ८६ हजार मूल्यबराबरको ५ लाख ५१ हजार किलो तरकारी उत्पादन गरेर बिक्रि गरेको थियो । संस्थाले कम्तिमा ३६ करोड मूल्यबराबरको खाद्यान्न बिक्रि गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित: ९ फाल्गुन २०७१, शनिबार