काठमाडौं ।
इन्टरनेट सर्च इन्जिन कम्पनी गूगलविरूद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति दाबीसहित मंगलबार मुद्धा दायर गरिएको छ।
कम्पनीले करोडौं प्रयोगकर्ताहरूको इन्टरनेट गतिबिधिलाई ट्र्याक गरेर गोपनियता उल्लंघन गरेको भन्दै मुद्धा दायर गरिएको हो ।
जसमा प्राइभेट मोडमा हुँदा पनि गुगलको ब्राउजर सेवा चलाउनेहरूको तथ्यांक व्यापकमात्रामा ट्र्याक गरेको आरोप लगाइएको छ।
कम्तिमा ५ विलियन अमेरिकी डलर क्षतिपूर्ति दाबी गरिएको सो मुद्धामा ‘इनकग्निटो मोड'(Incognito mode) मा हुँदा समेत प्रयोगकर्ताहरूले इन्टरनेट अनलाइनमा के हेरे भन्ने कुराहरू, उनीहरूले के ब्राउज गरे भन्ने कुराहरू लगायतका जानकारी संकलन गर्ने गरेको जनाइएको छ।
गूगलले आफ्नो गूगल ब्राउजर प्रयोगकर्ताका लागि प्राइभेट ब्राउजिङ्ग गर्नका लागि इनकोग्निटो मोड उपलब्ध गराएकोछ ।
यस मोडमा इन्टरनेट चलाउँदा प्रयोगकर्ताको सबै किसिमको इन्टरनेट गतिविधिको तथ्यांक गोप्य रहने बताईने गरिन्छ।
पछिल्लो दिनहरुमा अधिकांश ब्राउजरहरुमा यो फीचर राखिएको छ । जहाँ इन्टरनेट सेवा प्रदायकहरु र अन्य कम्पनीहरुले इन्टरनेट प्रयोगकर्ताको डाटा संकलन गर्न सक्दैनन् भन्ने दाबी गरिँदै आएको छ ।
अमेरिकाको क्यालिफोर्निया स्थित सान जोसेको संघीय अदालतमा दायर गरिएको मुद्धामा गूगलले गूगल एनालाइटिक्स, गूगल एड म्यानेजर र अन्य सेवाहरू तथा वेबसाइट प्लग-इनहरूबाट तथ्यांक संकलन गर्ने गरेको उल्लेख गरेको छ। यसमा स्मार्टफोन एपहरु र गूगलले सपोर्ट गरेका विज्ञापनहरु जहाँ प्रयोगकर्ताहरुले क्लिक गर्छ वा गर्दैन भनेर तथ्यांक संकलन गरिएको थियो ।
यसको सहयोगबाट गूगलले प्रयोगकर्ताहरूका साथी, उसका सोख, मनपर्ने खाने कुराहरु, किनमेल व्यवहार र एकदमै निजी र सार्वजनिक उपयोगमा असहज बनाउन सक्ने केके कुराहरू खोजिए भन्ने विषयहरू थाहा पाउनसक्ने दायर मुद्धामा उल्लेख गरिएको छ ।
दायर गरिएको मुद्धामा गूगललाई यसरी बिनाअनुमति भर्चुअली कम्प्यूटर र स्मार्ट फोनबाट हरेक अमेरिकीहरुको तथ्यांक संकलनमा संलग्न हुन नसक्ने दाबी गरिएको छ।
गुगलले भने सो मुद्धाको प्रतिवाद गर्ने जनाएकोछ। ‘हामी प्रत्येक पटक नयाँ इन्कग्निटो ट्याब खोल्दा स्पष्ट रूपमा भन्छौं, वेबसाइटहरूले तपाइँको ब्राउजिङ्ग गतिविधि बारे जानकारी संकलन गर्न सक्षम हुन सक्छ,’ गूगलका प्रवक्ताले भने।
सो मुद्धामा जून १ २०१६ देखि प्रयोगकर्ताहरुले प्राइभेट मोडमा ब्राउज गर्दा लाखौं गूगल यूजर्सको तथ्यांक संकलन गरिएको विषय राखिएको छ ।
सो मुद्दामा फेडरल वायरट्यापिङ्ग र क्यालिफोर्नियाको गोपनियताको कानूनको उल्लघंन गरिएको भन्दै प्रति प्रयोगकर्ता ५ हजार अमेरिकी डलर क्षतिपूर्ति माग गरिएको छ। रोयटर्सबाट
प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार