
काठमाडौं ।
रिलायन्स उद्योग डिजिटल सर्भिस प्रोभाइड कम्पनी जियो प्लेटफर्मले फेरि ठूलो लगानी प्राप्त गरेको छ। अमेरिकी निजी इक्विटी फर्म जनरल एट्लान्टिकले फेसबुक र भिस्टा इक्विटी पार्टनर पछि जियो प्लेटफर्ममा लगानी घोषणा गरेको हो ।
रिलायन्स उद्योगले जारी गरेको विज्ञप्तिअनुसार इक्विटी फर्म जनरल एट्लान्टिकले जियो प्लेटफर्ममा ६,५९८ करोड भारु लगानी गर्नेछ। यो लगानीसँगै जनरल एट्लान्टिकले जियोमा १.३४ प्रतिशत शेयर खरीद गरेको छ ।
यो एक महिनामा जियो प्लेटफर्ममा गरिएको चौथो लगानी हो। जनरल एट्लान्टिकको लगानीसँगै जियो प्लेटफर्मले हालसम्म कूल ६७ हजार १९४ करोड भारु नयाँ लगानीको रुपमा प्राप्त गरिसकेको छ।
यसअघि अमेरिकी कम्पनी भिस्टा इक्विटी पार्टनर्सले जियो प्लेटफर्ममा ११,३६७ भारु लगानी गरेको थियो । सो रकमको साथमा भिस्टाले जियो प्लेटफर्म लिमिटेडमा २.३ प्रतिशत शेयर खरीद गरेको हो ।
जियोमा लगानीको शुरुवात भने सोशल मिडिया कम्पनी फेसबुकबाट शुरु भएको हो । फेसबुकले जियोको ९.९ प्रतिशत शेयर किन्न ४३,५३५ करोड भारु लगानी गरेको थियो । त्यस्तै साल्क लेक सिटीले पनि जियोको १.५५ प्रतिशत शेयर किन्न ५,६५५ करोड भारु लगानी गरेको छ । एजेन्सी
प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार