
काठमाडौं ।
काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले १००जी (100G) अप्टिकल नेटवर्क बिस्तार गरेको छ ।
यसका लागि कम्पनीले नोकियासँग सहकार्य गरेको छ । समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको जानकारी दिएको छ।
१००जी अप्टिकल नेटवर्क बिस्तारसँगै उपभोक्ताले आफ्नो इन्टरनेटको ब्याण्डविथलाई १ जीबीपिएससम्म विस्तार गर्न सक्नेछन् । यसको थालनीसँगै उपभोक्ताले उच्च गतिको इन्टरनेट र हाई डेफिनिसन इन्टरनेट प्रोटोकल-आईपीटिभीको (high definition Internet protocol Television (IPTV)) सेवा लिन सक्नेछन् ।
नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर गराउन टेवा पुर्याउने विश्वास लिइएको कम्पनीको भनाई छ ।
देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्वीच, डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ्ग 1830 photonic service switch (PSS), Dense wavelength division Multiplexing (DWDM) राखिएको छ ।
यसबाट ग्राहकको उच्चतम गुणस्तरीय सेवाको मागलाई पुर्ति गर्ने सँगैसँगै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्ने जनाएको छ ।
नोकियाका इमर्जिंग बिजनेस इण्डियाका प्रमुख भिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताए ।
सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनीसँगै ग्राहकको बदलिंदो मागलाई सजिलैसँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गरे ।
“१०० जि नेटवर्कको थालनीसँगै कम्पनीले ग्राहकहरुलाई नबिनतम, उच्चस्तरीय तथा गुणस्तरीय सेवा प्रदान गर्ने छ र उहाँहरुको बदलिंदो र बढ्दो मागलाई सम्बोधन गर्ने छ,’ सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले भने ।
प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार