
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेलिकम जायन्ट ह्वावेले चीनमा देखिएको कोरोनाभाइरसको प्रकोप विरुद्ध लड्न आफ्नो ५जी टेक्नोलोजी उपलब्ध गराउने भएको छ ।
टेक कम्पनी ह्वावेले चीनको वुहान शहरमा निर्माण हुन लागेको अस्पताललाई आवश्यक हुनेगरि आफ्नो ५जी टेक्नोलोजी जडान गरेको छ । कम्पनीले हुवेई मोबाइल र हुवेई यूनिकमलाई ५जी लन्च गर्न आवश्यक ५जी बेस स्टेशन जडान गरेको हो ।
चीनमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्नेगरी चीन सरकारले द्रूत गतिमा अस्पताल निर्माण गरिरहेको छ र कम्पनीले सो अस्पतालका लागि आवश्यक पर्ने ५जी प्रविधि उपलब्ध गराउने भएको हो ।
ह्वावेले यसको लागि १५० जनाको वर्क फोर्स गठन गरेको छ भने सो समूहले केबल ३ दिनभित्रै आफ्नो ५जी बेस स्टेशनहरु तयार पारेको थियो । सो समूहले नेटवर्क प्लानिंग, सर्भे, डिजाइन र फाइबर निर्माण, बेस स्टेशन राख्ने र सेवा शुरु गर्ने कार्य गरेका थिए ।
हाल हुवेईका प्रमुख ३ अपरेटरहरुले सो निर्माणाधिन अस्पतालको नजिक आफ्नो ५जी नेटवर्क शुरु गरिसकेका छन् । सो ५जी सेवाले अस्पताललाई उच्च गतिमा डाटा पहुँच, डाटा संकलन, रिमोट कन्सल्टेशन, रिमोट मनिटरिंग र अन्य सेवाहरु दिन सहयोग गर्नेछ ।
यस बाहेक ह्वावेले सो अस्पतालका लागि आवश्यक पर्ने भिडियो कन्फ्रेन्स सिस्टमको लागि समेत सेवा उपलब्ध गराउने छ ।
यसअघि अर्को टेक कम्पनी लेनोभोले पनि सो अस्पतालका लागि आवश्यक आईटी उपकरणहरु प्रदान गरेको थियो । एजेन्सी
प्रकाशित: १३ माघ २०७६, सोमबार