मोबाइल इन्टरनेट स्पीडमा नेपालले भारतलाई उछिन्यो, १४५ मुलुकमध्ये १३० औं स्थानमा कायम

  • Technology Khabar | २७ आश्विन २०७६, सोमबार
मोबाइल इन्टरनेट स्पीडमा नेपालले भारतलाई उछिन्यो, १४५ मुलुकमध्ये १३० औं स्थानमा कायम
सांकेतिक

काठमाडौं ।

काठमाडौं । मोबाइल इन्टरनेट स्पीडमा नेपालले छिमेकी मुलुक भारतलाई पछाडि पारेको छ । मोबाइल इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाको अगस्ट महिनाको सार्वजनिक रिपोर्टअनुसार मोबाइल डाटामा सार्क क्षेत्रमा नेपालले छिमेकी मुलुक भारत, बंगलादेश र अफगानिस्तानलाई पछाडि पारेको छ ।

ओक्लाको स्पीडटेस्ट ग्लोबल इन्डेक्सको र्याकिङ्गमा नेपाल जुलाई महिनाको भन्दा एक श्रेणी तल झरेको छ । यसअघि नेपाल १२९ औं स्थानमा रहेको थियो भने अगस्ट महिनामा १३० स्थानमा रहेको छ । अगस्ट महिनामा नेपालको मोबाइल इन्टरनेटको गति १०.७८ एमबिपिएस रहेको छ भने अपलोड स्पीड ५.५९ एमबिपिएस रहेको छ ।

नेपालले डाउनलोड स्पीडमा निकै कम अन्तरतले भारतलाई पछाडि पारेको छ भने अपलोड स्पीडको भिन्नता निकै रहेको देखिन्छ । भारत स्पीडटेस्ट ग्लोबल इन्डेक्समा अघिल्लो जुलाई महिनाको तुलनामा १ स्थान घटेर १३१ औं स्थानमा छ । भारतको डाउनलोड स्पीड अगस्ट महिनामा १०.६५ एमबिपिएस छ भने अपलोड स्पीड ४.२३ एमबिपिएस रहेको छ ।

भारत विश्वको सबैभन्दा ठूलो इन्टरनेट बजारको रुपमा विकास हुँदै गएको छ भने मोबाइल फोन प्रयोगकर्ताको आधारमा पनि चीनपछिको दोस्रो ठूलो बजार हो ।

भारतपछि सार्क मुलुकहरुमध्ये बंगलादेश १३५ स्थानमा रहेको छ जसको डाउनलोड र अपलोड स्पीड क्रमशः १०.०७ र ६.५३ एमबिपिएस रहेको छ । अर्को सार्क मुलुक अफगानिस्तान भने १४२ औं स्थानमा रहेकोछ ।

सार्क मुलुकहरुमध्ये सबैभन्दा तिब्रगतिको मोबाइल इन्टरनेट भएको मुलुकमा माल्दिभ्स रहेको छ । माल्दिभ्स सो सूचीमा ६७ औं स्थानमा रहेको छ । जहाँ औसत मोबाइल इन्टनरेट डाउनलोड २४.७१ एमबिपिएस तथा अपलोड १३.८८ एमबिपिएस रहेको छ । त्यस्तै श्रीलंका पनि सूचीको ८३ औं स्थानमा रहेको छ ।

अगस्ट महिनामा विश्वभर औसत डाउनलोड स्पीड बढेर २८.०२ एमबिपिएस भएको छ भने सोहि अवधिमा अपलोड स्पीड १०.८७ एमबिपिएस मात्र रहेको छ । सो अवधिमा तिब्रगतिको मोबाइल इन्टरनेट भएको देश दक्षिण कोरिया भएको छ जहाँ १११ एमबिपिएसको डाउनलोड स्पीड छ भने अपलोड स्पीड १६.५१ एमबिपिएस रहेको छ ।

ओक्लाले विश्वभर १४५ वटा मुलुकहरुको मोबाइल इन्टरनेट स्पीडको तथ्यांक राखेको छ जसमध्ये नेपाल १३० औं स्थानमा रहेको हो ।

फिक्स्ड इन्टरनेट स्पीडतर्फ

नेपालले मोबाइल इन्टरनेट स्पीडमा छिमेकी मुलुक भारतलाई जितेपनि फिक्स्ड इन्टरनेट स्पीडमा भने भारतभन्दा निकै कमजोर रहेको छ । फिक्स्ड इन्टरनेट स्पीडको सूचीमा नेपाल १७६ मुलुकहरुमध्ये १०३ औं स्थानमा रहेको छ । फिक्स्ड इन्टरनेटतर्फ औसत डाउनलोड स्पीड २०.७१ एमबिपिएस छ भने अपलोड तर्फ १९.०४ एमबिपिएस रहेको छ ।

फिक्स्ड इन्टरनेट स्पीडमा सार्क मुलुकहरुमध्ये भारत सबैभन्दा अगाडि रहेकोछ । भारत ७० औं स्थानमा रहँदै डाउनलोड स्पीड ३१.५९ र अपलोड स्पीड २८.९३ एमबिपिएस रहेको छ । फिक्स्ड इन्टरनेट स्पीडतर्फ नेपालभन्दा अगाडि भारत, श्रीलंका, भुटान र बंगलादेश रहेका छन भने नेपालभन्दा पछाडि अन्य सार्क मुलुकहरु इन्टरनेट स्पीड कम भएकामा पर्दछन् ।

प्रकाशित: २७ आश्विन २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार