अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरको पहुँच
काठमाडौं ।
अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) मा यसै साता साइबर आक्रमण भएको छ। यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग भएको हुन सक्ने आशङ्का बढाएको छ।
एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको समाचारअनुसार ह्याकरहरूले किसानलाई भुक्तानी गर्ने प्रयोजनका लागि प्रयोग हुने मन्त्रालयको कम्प्युटर प्रणालीमा पहुँच बनाएका थिए । घटनाबारे जानकारी भएका मन्त्रालयका दुई पूर्वअधिकारीलाई उद्धृत गर्दै उक्त समाचारमा मन्त्रालयले बिहीबार आफ्ना कर्मचारीलाई यसबारे जानकारी गराएको उल्लेख छ।
यो घटना पछिल्लो समय अमेरिकाका विभिन्न महत्त्वपूर्ण प्रविधि प्रणालीमा देखिएका अवरोधहरूको शृङ्खलापछि सार्वजनिक भएको हो। ती अवरोधका कारण हवाई यातायात, बैंकिङ सेवा तथा राष्ट्रिय सुरक्षा प्रणालीसमेत प्रभावित भएका थिए ।
पछिल्ला केही दिनमा माइक्रोसफ्टका करोडौँ प्रयोगकर्ताले विश्वव्यापी सेवा अवरोधको सामना गर्नुपरेको थियो। त्यस्तै, सञ्चार प्रणालीमा आएको खराबीका कारण अमेरिकाभर हवाई उडानमा अस्थायी रोक लगाउनुपरेको थियो । त्यसबाट करिब २० हजार उडान प्रभावित भएका थिए ।
यसैगरी, अमेरिकाका विभिन्न प्रमुख बैंकका हजारौँ ग्राहकले आफ्ना अनलाइन खातामा पहुँच गर्न कठिनाइ भएको गुनासो गरेका थिए। अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले प्रयोग गर्ने उच्च गोपनीयतायुक्त आन्तरिक सञ्चार सञ्जालसमेत अवरुद्ध भएको थियो ।
यद्यपि, हालसम्मका यी सेवा अवरोधहरू साइबर आक्रमणका कारण भएका हुन् भन्ने पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन। अमेरिकी गुप्तचर अधिकारीहरूले बुधबार ती अवरोधहरू एकअर्कासँग सम्बन्धित नभई नियमित मर्मतसम्भार तथा प्राविधिक परिवर्तनका क्रममा उत्पन्न भएका छुट्टाछुट्टै सेवा समस्याहरू भएको बताएका थिए। ती कुनै समन्वित वा राज्य प्रायोजित साइबर आक्रमणको परिणाम नभएको उनीहरूको भनाइ थियो।
प्रविधि प्रणालीमा देखिएका लगातारका अवरोधलाई लिएर सरकारको आलोचना बढिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसका राष्ट्रिय साइबर निर्देशक सिन केर्नक्रसलाई पदबाट हटाएका छन्। उनले सन् २०२५ अगस्टदेखि उक्त कार्यालयको नेतृत्व गर्दै आएका थिए।
एक्सियोसका अनुसार दुई स्रोतले केर्नक्रसको बहिर्गमन सौहार्दपूर्ण रहेको बताएका छन्। तर, ह्वाइट हाउसका दुई अधिकारीले ट्रम्पका नयाँ चिफ अफ स्टाफ स्टेफन मिलरले उक्त परिवर्तनका लागि दबाब दिएको बताएका छन्। मिलरले केर्नक्रससँग उक्त जिम्मेवारी निर्वाह गर्न आवश्यक बलियो साइबर सुरक्षा अनुभव नभएको ठानेको ती अधिकारीहरूको भनाइ छ।
एक्सियोसका अनुसार ट्रम्पले रक्षा मन्त्रालयका प्रमुख सूचना अधिकारी किस्र्टन डेभिसलाई नयाँ राष्ट्रिय साइबर निर्देशक नियुक्त गरेका छन्। उक्त पदमा नियुक्तिका लागि अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्नेछ।
कृषि मन्त्रालयको प्रणालीमा भएको साइबर आक्रमणको वास्तविक प्रभाव, सम्भावित सूचना चुहावट तथा घटनामा संलग्न पक्षबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ। रासस/सिन्ह्वा