ताजा समाचार

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु
Global IME Bank

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका दश वटा टिमबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष जेलिना भट्टले बताइन्।

ह्याकाथन भनेको निश्चित छोटो समयभित्र प्रोग्रामर, डिजाइनर र विज्ञहरूले मिलेर सफ्टवेयर, एप वा प्रविधिमार्फत कुनै समस्याको समाधान वा प्रोटोटाइप तयार गर्ने प्रतिस्पर्धात्मक कार्यक्रम हो ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका दश टिमबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमुना तयार गरी निर्णायकसमक्ष प्रस्तुति गर्ने प्रतियोगिता संयोजक भुपेन्द्र जोशीले जानकारी दिए।

“सहभागीहरुले समस्याको पहिचान गरेर टेक्लोलोजिको प्रयोग गरी समाधान निकाल्नेछ”, उनले भने, “प्रतियोगिता ४८ घण्टासम्म सञ्चालन हुनेछ ।”

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पचास हजार, दोस्रोलाई रु २५ हजार र तेस्रो हुने टिममलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले उद्घाटन गर्दै प्रतियोगिताले सहभागीबीच प्रतिभा प्रस्फुटन, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा महिलाले नेतृत्व गरेका टिममध्येबाट उत्कृष्ट हुनेलाई रु १० हजार नगद प्रदान गरिने संयोजक जोशीले जानकारी दिए।

त्यस्तै हार्डवेयरसम्बन्धी उत्कृष्ट प्रोजेक्ट निर्माण र स्थानीय समस्या समाधान गर्ने टोली तथा उत्कृष्ट प्रस्तुति र डिजाइन गर्नेलाई समेत पुरस्कृत गरिने जनाइएको छ।

उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि २८ टिमले नाम दर्ता गराएकामा दश टिमलाई छनौट गरिएको हो । उनले भने, “प्रतियोगितामा पाँच विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता छ ।” ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका आठ वटा ट्रयाकमा विद्यार्थीहरूले आफ्ना समाधान प्रस्तुत गर्नेछन् ।

ह्याकाथनमा सुदूरपश्चिम विश्वविद्यालयका साथै विभिन्न क्षेत्रका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

Sajilo Visa
easy care