Highlight News

के माइक्रोसफ्टले हालै भएको सेवा अवरुद्ध वापत् क्षतिपूर्ति दिन्छ? यस्तो छ कम्पनीको नीति

के माइक्रोसफ्टले हालै भएको सेवा अवरुद्ध वापत् क्षतिपूर्ति दिन्छ? यस्तो छ कम्पनीको नीति
Global IME Bank

माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरुद्ध भएपछि प्रभावित ग्राहकले थप सेवा क्रेडिट पाउन योग्य छन् कि छैनन् भन्नेबारे कम्पनीका नीतिहरूको समीक्षा गरिरहेका छन्।

कम्पनीले सेवा पुनः सञ्चालन गर्ने र अवरोधको कारण पत्ता लगाउने काम गरिरहेका बेला प्रभावित ग्राहकले क्षतिपूर्ति पाउन सक्ने वा नसक्ने विषयमा चर्चा भइरहेको छ।

रेडिटका एक प्रयोगकर्ताले लेखेका छन्, “आजको सेवा अवरोधका लागि माइक्रोसफ्टले तपाईंलाई पैसा तिर्नुपर्छ।”

उनले माइक्रोसफ्टको सेवा स्तर सम्झौता (एसएलए) अनुसार कम्पनीले एक महिनामा ४४ मिनेटसम्म सेवा अवरुद्ध हुन सक्ने व्यवस्था गरेको उल्लेख गरेका छन्।

यसको अर्थ सेवा ४४ मिनेटभन्दा बढी समय अवरुद्ध भएमा कम्पनीले मासिक सेवा शुल्कको २५ प्रतिशत बराबरको क्रेडिट र सात घण्टाभन्दा बढी सेवा उपलब्ध नभएमा ५० प्रतिशत क्रेडिट दिनुपर्ने हुन्छ।

“माइक्रोसफ्टले यो क्रेडिट स्वतः उपलब्ध गराउँदैन। यसका लागि आफैँले माग गर्नुपर्छ,” ती प्रयोगकर्ताले थपेका छन्।

नोभेम्बर १२ मा सुरु भएको सेवा अवरोधका कारण माइक्रोसफ्ट ३६५, कोपाइलट, आउटलुक, टिम्सलगायतका सेवाहरू प्रभावित भएका थिए।

क्षतिपूर्ति कसरी पाइन्छ?

साइबरन्युजका अनुसार रेडिटका ती प्रयोगकर्ताले सेवा कहिले बन्द भयो, कहिले पुनः सञ्चालन भयो र कति प्रयोगकर्ता प्रभावित भए भन्ने विवरण टिपेर राख्न सुझाव दिएका छन्। तर क्षतिपूर्ति दाबी गर्दा यी विवरण मात्रै पर्याप्त नहुन सक्छन्।

माइक्रोसफ्टको सेवा स्तर सम्झौता (एसएलए) ले कम्पनीले आफ्ना सशुल्क सेवामा कति समय सेवा उपलब्ध गराउने भन्ने प्रतिबद्धता निर्धारण गर्छ। सामान्यतया यस्तो प्रतिबद्धता ९९.९ प्रतिशत वा सोभन्दा बढी हुन्छ।

एसएलए सशुल्क ग्राहकका लागि लागू हुन्छ। त्यसैले व्यवसाय, सरकारी निकाय र शैक्षिक संस्थाहरूले यसअन्तर्गत क्षतिपूर्ति दाबी गर्न सक्छन्। क्लाउड सोलुसन प्रोभाइडर (सीएसपी) मार्फत सेवा लिने सशुल्क ग्राहक पनि यसमा पर्छन्।

यद्यपि, क्षतिपूर्तिका सर्तहरू सम्बन्धित सेवाअनुसार फरक हुन सक्छन्। माइक्रोसफ्टले सन् २०२६ नोभेम्बर १ मा सार्वजनिक गरेको ‘माइक्रोसफ्ट अनलाइन सेवाका लागि सेवा स्तर सम्झौता’ मा यसबारे उल्लेख गरिएको छ।

व्यक्तिगत प्रयोगकर्ताले क्षतिपूर्ति पाउने वा नपाउने कुरा उनीहरूले लिएको सदस्यता र प्रयोग गर्ने सेवामा निर्भर गर्छ।

उदाहरणका लागि, माइक्रोसफ्ट ३६५ पर्सनल र फ्यामिली सदस्यतालाई माइक्रोसफ्ट ३६५ बिजनेस सदस्यतासरह मानिँदैन। त्यसैले व्यक्तिगत र पारिवारिक सदस्यतामा कम्पनीको एसएलए लागू हुँदैन।

तर माइक्रोसफ्ट ३६५ बिजनेस सदस्यताअन्तर्गत सेवा प्रयोग गर्ने ग्राहकको हकमा भने सम्बन्धित संस्थाले क्षतिपूर्तिका लागि दाबी पेस गरेमा क्रेडिट पाउन सक्ने सम्भावना हुन्छ।

क्षतिपूर्ति पाउन योग्य भए पनि प्रयोगकर्ताले नगद फिर्ता पाउने छैनन्। उनीहरूले भविष्यमा माइक्रोसफ्टका सेवाहरू प्रयोग गर्न मिल्ने क्रेडिट प्राप्त गर्नेछन्।

माइक्रोसफ्टको सेवा अवरोधबारे पछिल्लो जानकारी

माइक्रोसफ्टबाट यसअघि पनि यस्तै क्षतिपूर्ति पाएको अनुभव कसैसँग छ कि छैन भन्नेमा केही प्रयोगकर्ताले चासो देखाएका छन्।

एक प्रयोगकर्ताले लेखेका छन्, “अघिल्लो पटक मैले ९०० डलर बराबरको क्रेडिट पाएको थिएँ। त्यसका लागि तीन महिना लाग्यो र धेरै पटक इमेलमार्फत ताकेता गर्नुपर्‍यो। तर अन्ततः क्रेडिट पाएँ।”

यद्यपि, धेरै प्रयोगकर्ताको चासो क्षतिपूर्तिभन्दा पनि सेवा पुनः सञ्चालन हुने विषयमा थियो।

रेडिटका एक प्रयोगकर्ताले लेखेका छन्, “आजै सेवा पुनः सञ्चालन हुन्छ भन्ने तपाईंको अनुमान साहसिक रहेछ।”

सेवा अवरुद्ध भएको १२ घण्टाभन्दा बढी समय बितिसक्दा माइक्रोसफ्टले समस्या समाधान गर्ने प्रयासमा “सीमित सफलता” प्राप्त भएको जनाएको थियो।

सेवा अवरुद्ध हुनुको सम्भावित कारणबारे कम्पनीले आफ्नो सेवा स्थिति पृष्ठमा यस घटनामा कुनै दुर्भावनापूर्ण गतिविधि भएको जानकारी नरहेको बताएको छ। साथै, समस्या पूर्ण रूपमा समाधान भएपछि घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

Sajilo Visa
easy care