एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह
काठमाडौं ।
कृत्रिम बुद्धिमता (एआई) को सहयोगमा तयार पारिएका गीत र तिनका सर्जकलाई सम्मान गर्न अमेरिकामा शुक्रबार पहिलो पटक एआई म्युजिक अवार्ड समारोह आयोजना गरिएको छ।
एआईको प्रयोगबाट संगीत सिर्जना गर्ने विषयले आलोचना र कानुनी विवाद निम्त्याइरहेका बेला यस्तो संगीतले लाखौँ पटक स्ट्रिमिङ पाउनुका साथै संगीत चार्टमा समेत स्थान बनाउन थालेको छ। लस एन्जलसको डाउनटाउनमा आयोजित समारोहमा प्रस्तोता र पुरस्कार विजेताहरूले एआईबाट तयार पारिएको संगीतलाई नयाँ विधाका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार यस्तो संगीत सिर्जना गर्न पनि वास्तविक सिर्जनात्मक कला र उपयुक्त धुन तयार पार्न घण्टौँसम्म एआईलाई निर्देशन दिनुपर्ने हुन्छ।
उत्कृष्ट एआई हिपहप गीतको अवार्ड प्रदान गर्ने क्रममा संगीत निर्माता ड्रेक मर्फीले भने, “एआईलाई सबैले नक्कली भन्ने संसारमा यसको पछाडि काम गर्ने मानिस भने वास्तविक हुन्छ।”
समारोहका मुख्य विधा एआई कलाकार, वर्षको उत्कृष्ट गीत र वर्षको उत्कृष्ट एल्बमका अवार्ड एआईबाट तयार पारिएको अवतार जेनिया मोनेटले जितेको छ। ‘हाउ वाज आई सपोज्ड टु नो?’ गीतका लागि चर्चित मोनेटको उक्त आरएन्डबी गीत बिलबोर्डको रेडियो चार्टमा स्थान बनाउने एआईमा आधारित कलाकारको पहिलो गीत बनेको बिलबोर्डले जनाएको छ।
रोयटर्सका अनुसार मोनेटलाई टेलिशा ‘निकी’ जोन्सले सिर्जना गरेकी हुन्। उनले गीतका सबै शब्द आफैँ लेखेको र त्यसलाई संगीतमा रूपान्तरण गर्न एआईको सहयोग लिएको बताएकी छन्।
समारोहअघि रेड कार्पेटमा बोल्दै जोन्सले भनिन्, “मलाई लाग्छ, एआई संगीत नयाँ विषय हो, जसलाई मानिसहरूले बिस्तारै स्वीकार गर्नुपर्छ। निकट भविष्यमै यो हराउने देखिँदैन।”
एआई संगीतका लागि चार्ट र गीत एआईबाट बनेको पहिचान गर्ने उपकरण विकास गरेको कम्पनी सोनिक इन्टेलिजेन्स एकेडेमीका सदस्य एआई कलाकारहरूले अवार्डका विजेता छनोट गरेका थिए।
विरोधका बाबजुद कलाकारले एआईलाई सिर्जनात्मक उपकरणका रूपमा प्रस्तुत गरे
संगीत सिर्जनामा एआईको प्रयोग सन् १९५० को दशकदेखि हुँदै आए पनि पछिल्लो समय जेनेरेटिभ एआईमा भएका महत्त्वपूर्ण प्रगतिले संगीत क्षेत्रमा फरक मत सिर्जना गरेको छ। अहिले एआईबाट डिजिटल पपस्टारका रूपमा समेत संगीत तयार हुन थालेको छ।
रेकर्ड कम्पनीहरूले एन्थ्रोपिक र ओपनएआईलगायत एआई कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। ती कम्पनीले आफ्ना एआई मोडेललाई तालिम दिन प्रतिलिपि अधिकार सुरक्षित संगीत सामग्री गैरकानुनी रूपमा प्रयोग गरेको रेकर्ड कम्पनीहरूको आरोप छ। एल्भिस प्रेस्लीको सम्पत्ति व्यवस्थापन गर्ने संस्थाले पनि मुद्दा दायर गरेको छ।
एआई कम्पनीहरूले भने अमेरिकी प्रतिलिपि अधिकार कानुनको ‘फेयर युज’ व्यवस्थाअन्तर्गत केही अवस्थामा अनुमति नलिई सामग्री प्रयोग गर्न पाइने भन्दै आफ्नो बचाउ गरेका छन्।
एआईबाट तयार पारिएका गीतले मानव कलाकारलाई आफ्नो पहिचान बनाउन कठिन बनाउने र संगीत निर्माता, गायक, इन्जिनियर तथा गीतकारको रोजगारी खोस्ने चिन्ता संगीतकर्मीहरूले व्यक्त गर्दै आएका छन्।
शुक्रबारको समारोहमा मनोनयनमा परेका धेरै कलाकारले आफूसँग सुनाउनुपर्ने कथा भए पनि त्यसलाई संगीतमा रूपान्तरण गर्न आवश्यक सबै सीप नभएको बताएका थिए। उनीहरूका अनुसार एआईले आफ्नो सिर्जनालाई संगीतमा उतार्न सहयोग गरेको छ। एआई संगीतको पछाडि पनि मानिसहरूको सिर्जनात्मक काम रहेको कुरा अवार्डले देखाउने उनीहरूको अपेक्षा छ।
अवार्डका मनोनीत जे. फ्रिक्वेन्सीले भने, “हामीले पर्दापछाडि गर्ने धेरै काम निकै मेहनतपूर्ण हुन्छन्, मानिसहरूले सोचेभन्दा फरक। कला भनेको कला नै हो र मलाई लाग्छ, यो पनि त्यसको अर्को अभिव्यक्ति हो।”