‘बाटुलो जुन’ का दृश्य सामाजिक सञ्जालमा अपलोड नगर्न निर्माण पक्षको आग्रह, साइबर ब्यूरोमा उजुरी
काठमाडौं ।
चलचित्र ‘बाटुलो जुन’ का दृश्य हलबाट रेकर्ड गरी सामाजिक सञ्जालमा अनधिकृत रूपमा अपलोड तथा प्रसारण भइरहेको भन्दै निर्माण पक्षले आपत्ति जनाएको छ।
चलचित्रका विभिन्न दृश्य हलभित्रबाट रेकर्ड गरी टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमा अपलोड तथा प्रसारण भइरहेको भन्दै निर्माण कम्पनी सनराइज पिक्चर्स प्रालिले यस्तो गतिविधि रोक्न आग्रह गरेको हो।
कम्पनीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुमति नलिई चलचित्रका दृश्य रेकर्ड गरी सार्वजनिक गर्नु प्रतिलिपि अधिकारको उल्लङ्घन हुनुका साथै चलचित्रको व्यावसायिक प्रदर्शनमा समेत प्रत्यक्ष असर पार्ने जनाएको छ।
निर्माण पक्षले चलचित्रका दृश्य अनधिकृत रूपमा रेकर्ड, अपलोड तथा सेयर नगर्न र यसअघि अपलोड गरिएका सामग्रीसमेत तत्काल हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाइने कम्पनीले चेतावनी दिएको छ।
कम्पनीका अनुसार शुक्रबार नै प्रयोगकर्तासम्बन्धी प्रमाणसहित साइबर ब्युरोमा उजुरीसमेत दर्ता गरिएको छ।
चलचित्रको मौलिकता, श्रम र सिर्जनाको सम्मान गर्न आग्रह गर्दै निर्माण पक्षले दर्शकलाई चलचित्र हलमै पुगेर ‘बाटुलो जुन’ हेर्न अनुरोध गरेको छ।