काठमाडौं ।
समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले घोर आपत्ति प्रकट गरेको छ।
नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी पक्राउ गरिएको तथा नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघले विज्ञप्ति जारी गर्दै निन्दा र खेद व्यक्त गरेको छ।
“मैनालीलाई लिन आएको प्रहरी ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा रहे पनि महासंघका महासचिव रामप्रसाद दाहालसहितको दबाबपछि पछि हटेको थियो । धरपकड गरिएका पत्रकारलाई पनि शुक्रबार साँझनै छोडिएको छ। दियो पोष्टका पत्रकार सुदिप विश्वकर्मालाई पनि पक्राउ गर्न निगरानी गरिएको जानकारी प्राप्त भएको छ,” महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचारको विययमा कुनै समस्या भए विधिबमोजिम समाधान खोज्न छोडेर राज्य आतंक सिर्जना गर्नु शोभनीय विषय होइन । यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन, संविधान र कानुनविपरीत रहेको महासंघको ठहर छ।”
महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा प्रहरीले अपनाएको स्वेच्छाचारी कदमप्रति खेद प्रकट गर्दै कडा भत्र्सना गरेको छ।
प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार