काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनुभएको छ।
कर्पोरेट नेपालद्वारा आज आयोजित ‘नेपाली ब्राण्ड परिसंरचना २०८३’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले नेपालका उत्पादन तथा ब्राण्डको वर्तमान अवस्था पहिचान गर्न वैज्ञानिक विधिबाट गरिएको अध्ययन महत्वपूर्ण हुने बताए।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाली ब्राण्डको प्रवर्द्धनका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिए। औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
उनले नेपालका विशिष्ट उत्पादन, मौलिक पहिचान र भौगोलिक विशेषताबाट अन्तर्राष्ट्रिय बजारमा लाभ लिन सकिने बताए। भौगोलिक पहिचानसँग जोडिएका उत्पादनलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गर्दै विश्व बजारमा नेपाली ब्राण्डका रूपमा स्थापित गर्नुपर्ने उनले उल्लेख गरे।
“आजको व्यापार भौगोलिक सीमामा मात्र सीमित छैन। सूचना प्रविधिले हाम्रा उत्पादनलाई विश्व बजारसम्म सहज रूपमा पुर्याउने वातावरण बनाएको छ,” सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने।
सरकारको भूमिका नेपाली उत्पादन र ब्राण्डलाई विश्व बजारमा पुर्याउन आवश्यक वातावरण निर्माण गर्ने र प्रक्रियागत रूपमा सहजीकरण गर्ने रहेको उनले स्पष्ट पारे। यसका लागि आवश्यक नीति, नियम र कानुन निर्माण तथा विभिन्न सरकारी निकायबीच समन्वयलाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
नेपाली उत्पादन र ब्राण्डको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले भने, “नीतिगत रूपमा के–कस्तो काम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न निकायबीच समन्वय आवश्यक छ। त्यसका लागि सरकार सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न तयार छ।”
सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाली ब्राण्डको विकास केवल व्यापारिक विषय नभई मुलुकको अर्थतन्त्रसँग समेत जोडिएको बताए। नेपालका विशिष्ट तथा मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्राण्डका रूपमा स्थापित गर्न सके त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उनको भनाइ थियो।
उनले ब्राण्डिङ केवल प्रचार–प्रसारको विषय नभई मौलिकता, नेपालीपन र छुट्टै पहिचान निर्माण गर्ने प्रक्रिया भएको बताए। आफ्ना उत्पादन तथा व्यवसायमा नेपालीपन र मौलिक पहिचान स्थापित गर्दै अघि बढ्न सके दीर्घकालीन रूपमा उपभोक्ताको विश्वास र व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने उनले उल्लेख गरे।-रासस
प्रकाशित: २२ आश्विन २०८३, बिहीबार