काठमाडौं ।
अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकले हालसम्म ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका २२ वर्षीय विक्की कुमार महतो रहेका छन्।
असोज १२ गते काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित सडकखण्डमा शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक सोधपुछमा महतोले वनएक्सबेट र मोबक्याश एप प्रयोग गरी अनलाइन सट्टेबाजी गर्ने गरेको स्वीकार गरेका छन्। साथै, उनले यूएसडीटी लगायतका क्रिप्टोकरेन्सीमा समेत कारोबार गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसा बराबरको कारोबार गरेको देखिएको छ।
अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
प्रकाशित: २२ आश्विन २०८३, बिहीबार