एप स्टोर शुल्क सम्बन्धी १ अर्ब पाउन्डको बेलायती मुद्दाको सामना गर्दै गुगल

  • Technology Khabar | २२ आश्विन २०८३, बिहीबार
एप स्टोर शुल्क सम्बन्धी १ अर्ब पाउन्डको बेलायती मुद्दाको सामना गर्दै गुगल

काठमाडौं ।

गुगलमाथि आफ्नो बजार प्रभुत्वको दुरुपयोग गर्दै एप विकासकर्ताबाट अत्यधिक कमिसन लिएको आरोप लागेको छ। १ अर्ब पाउन्ड (१.३३ अर्ब डलर)भन्दा बढीको सामूहिक उपभोक्ता मुद्दाको सुनुवाइ मंगलबार लन्डनमा सुरु भएको हो।

सन् २०१५ देखि यस वर्षको जुलाईसम्म गुगलको प्ले स्टोरबाट एप खरिद गरेका वा एपभित्रका खरिद तथा सब्सक्रिप्सनका लागि भुक्तानी गरेका करिब २ करोड उपभोक्ताका तर्फबाट यो मुद्दा दायर गरिएको हो। यो बेलायतमा ठूला प्रविधि कम्पनीविरुद्ध दायर भएको पछिल्लो मुद्दा हो।

रोयटर्सका अनुसार उपभोक्ता अधिकारकर्मी लिज कोलको प्रतिनिधित्व गर्ने वकिलहरूले गुगलले आफ्नो प्रभुत्वको प्रयोग गर्दै प्ले स्टोरमार्फत एप खरिद, साथै एपभित्रका खरिद र सब्सक्रिप्सनमा ३० प्रतिशतसम्म कमिसन लिएको बताएका छन्।

उनीहरूले यस्तो अत्यधिक कमिसनको भार एप विकासकर्ताले उपभोक्तामाथि सारेको दाबी गरेका छन्। उदाहरणका रूपमा उनीहरूले गुगलले एप्पलको एप स्टोरमार्फत यूट्युब प्रिमियम बिक्री गर्दा आफूले तिर्नुपरेको कमिसनको भार पनि उपभोक्तामाथि सारेको बताएका छन्।

तर गुगलको मूल कम्पनी अल्फाबेटले उक्त मुद्दाको विरोध गरेको छ। कम्पनीका प्रवक्ताले यो मुद्दाले एन्ड्रोइड प्लेटफर्मले उपभोक्तालाई उपलब्ध गराउने छनोटको स्तरलाई बेवास्ता गरेको र गुगलले ‘बजारमा रहेका केही सबैभन्दा कम शुल्क’ लिने बताएका छन्।

कोलको मुद्दाको आधार नभएको दाबी गर्दै गुगलका वकिलहरूले प्ले स्टोरले विकासकर्ता र उपभोक्ता दुवै पक्षबाट बलियो प्रतिस्पर्धात्मक दबाब सामना गरिरहेको बताएका छन्। यसमा एप्पलको एप स्टोर र अन्य वैकल्पिक प्लेटफर्महरू पनि रहेका छन्।

लन्डनस्थित प्रतिस्पर्धा अपिल न्यायाधिकरणमा भइरहेको यो सुनुवाइ एप्पल र सोनीविरुद्धका यस्तै मुद्दापछि सुरु भएको हो। ती मुद्दामा क्रमशः एप स्टोर र प्लेस्टेसन स्टोरमा ३० प्रतिशतसम्म कमिसन लिएको आरोप लगाइएको थियो।

कोलको मुद्दा गुगलको एप स्टोरसम्बन्धी अभ्यासमाथि नियामक निकायको वर्षौँदेखिको निगरानी र कानुनी विवादपछि आएको हो। यसमा ‘फोर्टनाइट’ निर्माता एपिक गेम्ससँगको लामो कानुनी विवाद पनि समावेश छ। एपिकको लन्डन मुद्दाको सुनुवाइ कोलको मुद्दासँगै हुने तय भएको थियो।

मार्चमा गुगल र एपिकबीच विश्वव्यापी सहमति भएको थियो। त्यसअन्तर्गत गुगलले बिलिङका विकल्प विस्तार गर्ने र विकासकर्ताबाट लिने शुल्क घटाउने बताएको थियो।

गत महिना गुगलले एप विकासकर्ताका तर्फबाट दायर अर्को मुद्दामा पनि २६ करोड पाउन्डमा सहमति गरेको थियो। उक्त सहमतिमा गुगलले कुनै दायित्व वा गलत काम स्वीकार गरेको थिएन।

प्रकाशित: २२ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार