नेपालका पाँच प्रविधि संस्था ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित

  • Technology Khabar | २३ आश्विन २०८३, शुक्रबार
नेपालका पाँच प्रविधि संस्था ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं ।

नेपालका पाँच प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन्।

एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल र एआई समिट २०२६’ (अक्टोबर ५–७० अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो।

यसअन्तर्गत सनवे इन्टरनेसनल बिजनेस स्कुलले ‘एआई प्रतिभा विकास पुरस्कार’ जितेको छ। त्यस्तै ‘साइबर सुरक्षामा एआई पुरस्कार’ इनसाइट टेक्नोलोजी प्राईभेट लिमिटेडले पाएको छ।

‘स्वास्थ्य सेवामा एआई पुरस्कार’ वाइज याक सोलुसन्स प्राईभेट लिमिटेडले जित्न सफल भएको छ। त्यस्तै ‘स्मार्ट कृषिमा एआई पुरस्कार’ डिभी एक्सेलस प्राईभेट लिमिटेडले प्राप्त गरेको छ। त्यस्तै अभियान्ता फाउन्डेसनले ‘कार्यबल तथा भविष्यका सीपहरूमा एआई पुरस्कार’ हात पार्न सफल भएको छ।

नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का सिफारिसमा सहभागी यी संस्थाले इन्डोनेसियाको जकार्तामा आयोजित असोसियो डिजिटल र एआई समिट २०२६ मा यी विधामा अवार्ड हात पारेका हुन्।

क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो। महासंघले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु नेपालका लागि गौरवको विषय भएको क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले बताए।

असोसियो अवार्डले नेपाललाई क्षेत्रीय डिजिटल हबको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महासंघले यस्तो सम्मानले देशको प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छ।

‘सुरक्षित अर्थतन्त्र, प्रविधि र व्यावहारिक एआईमार्फत समाज र उद्योगको रूपान्तरण’ विषयमा केन्द्रित यस वर्षको समिट असोसियोको फ्ल्यागसिप इभेन्टका रूपमा आयोजना गरिएको हो। समिटमा एआई प्रविधिको भूमिका, साइबर सुरक्षा, डिजिटल गभरमेन्टका रणनीति, स्टार्टअप इकोसिस्टम र ट्यालेन्ट विकास, एआई जस्ता विषयमा विस्तृत छलफल भएको थियो।

२४ एसियाली–ओसियनियन देशका प्रतिनिधिहरू सहभागी समिटमा विभिन्न प्यानल डिस्कसन, वर्कशप र प्रदर्शनीमार्फत नवीनतम प्रविधि र इनोभेसन प्रस्तुत गरिएका थिए।

प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...