भोडाफोनले ८ जीबीपीएस ब्रोडब्यान्डको तयारी गर्दै परीक्षण गर्यो फिफ्टीजी पीओएन प्रविधि

  • Technology Khabar | १७ आश्विन २०८३, शनिबार
भोडाफोनले ८ जीबीपीएस ब्रोडब्यान्डको तयारी गर्दै परीक्षण गर्यो फिफ्टीजी पीओएन प्रविधि
फा्इल तस्बिर

काठमाडौं ।

भोडाफोनले मोबाइल बजारसँगै फिक्स्ड-लाइन बजारमा पनि आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास गरिरहेको छ।

बेलायतको यो दूरसञ्चार कम्पनी नोकियाको फिफ्टीजी पीओएन प्रविधि परीक्षण गर्ने पछिल्लो बेलायती दूरसञ्चार कम्पनी बनेको छ। उसले न्यूबरीस्थित आफ्नो प्रयोगशालामा यो प्रविधिको परीक्षण गरेको हो।

टेलिकम्स डटकमका अनुसार फिफ्टीजी पीओएनले ५० जीबीपीएससम्मको समान अपलोड र डाउनलोड गति उपलब्ध गराउन सक्छ। फाइबर एक्सेस नोडमा इन्टरफेस कार्ड र पोर्ट अपग्रेड गरेर यो प्रविधि सञ्चालन गर्न सकिन्छ।

यसले नयाँ फाइबर लाइन बिछ्याउनुभन्दा कम खर्चमा क्षमता बढाउन सकिन्छ। यो जीपीओएन र एक्सजीएस–पीओएनसँगै सञ्चालन गर्न सकिने भएकाले मागअनुसार विस्तार गर्न पनि सकिन्छ।

“यो सफल परीक्षणले हाम्रो विद्यमान फाइबर ब्रोडब्यान्ड नेटवर्कलाई भविष्यका आवश्यकताका लागि तयार राख्न सकिने देखाएको छ। चाहे कृत्रिम बुद्धिमताका एजेन्ट र मेसिनबीच संवाद होस् वा मानिसले इमर्सिभ एप्लिकेसन प्रयोग गरिरहेका होऊन्। यसले आवश्यक ठाउँमा लक्षित रूपमा अपग्रेड गर्न, कम लागतमा क्षमता बढाउन र ग्राहक अनुभव सुधारमा ध्यान दिन पनि सहयोग गर्छ,” भोडाफोनका फिक्स्ड एक्सेस नेटवर्क प्रमुख गेभिन योङले भने।

भोडाफोनका अनुसार परीक्षणले मोबाइल ब्याकहलका लागि आवश्यक उन्नत सिङ्क्रोनाइजेसन पनि प्रमाणित गरेको छ। छिमेकी बेस स्टेसनबीच मोबाइल सेवा अवरोध नहुने गरी ह्यान्डओभर गर्न यस्तो सिङ्क्रोनाइजेसन महत्वपूर्ण हुन्छ।

परीक्षणका क्रममा भोडाफोन र नोकियाले टेलिकम बाउन्ड्री क्लक (टी–बीसी) र सिङ्क्रोनस इथरनेट (सिङ्कई) प्रयोग गरेका थिए। टी–बीसी नेटवर्क ट्राफिकलाई समन्वय गर्ने हार्डवेयर क्लक हो भने सिङ्कई प्याकेटमा आधारित इथरनेट नेटवर्कमा फ्रिक्वेन्सी सिङ्क्रोनाइजेसनका लागि प्रयोग हुने मापदण्ड हो।

“भोडाफोनसँग मिलेर हामीले फिक्स्ड र मोबाइल नेटवर्कलाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक प्रमुख क्षमताहरू प्रमाणित गरेका छौं। यसले हाम्रो रणनीतिक साझेदारी र नवप्रवर्तनप्रतिको साझा प्रतिबद्धतालाई बलियो बनाएको छ,” नोकियामा भोडाफोन ग्रुपका क्लाइन्ट एक्जिक्युटिभ मंगेश कुलकर्णीले भने।

फिफ्टीजी पीओएन परीक्षण पूरा गरेपछि अब थप परीक्षण र प्रत्यक्ष प्रयोगको तयारी गरिने भोडाफोनले जनाएको छ। यसअन्तर्गत यस वर्षको बाँकी समय र सन् २०२७ मा यूरोपभर फैलिएको आफ्नो फाइबर नेटवर्कमा थप परीक्षण तथा प्रत्यक्ष प्रयोग गरिनेछ।

भोडाफोनले बेलायतभर फिक्स्ड ब्रोडब्यान्ड सेवा दिन ओपनरिच र सिटीफाइबरका नेटवर्कमा निर्भर गर्छ। त्यसैले उसको ब्रोडब्यान्ड सेवाको गति थोक नेटवर्क साझेदारबाट उपलब्ध हुने क्षमतामा निर्भर हुन्छ।

सिटीफाइबरले नोकियाले उपलब्ध गराएको उपकरण प्रयोग गरेर एक्सजीएस–पीओएन नेटवर्क विस्तार गरिसकेको छ र ५०जी पीओएन पनि उसको आगामी योजनामा छ।

त्यसैले नोकियासँग भोडाफोनले गरेको प्रयोगशाला परीक्षणले यो प्रविधिको क्षमता बुझ्न उपयोगी हुने देखिएको छ। यसबीच भोडाफोनले सिटीफाइबरको एक्सजीएस–पीओएन नेटवर्कको अधिकतम उपयोग गर्न चाहेको छ।

सिटीफाइबरले मार्चमा ८.५ जीबीपीएसको थोक सेवा सुरु गरेपछि भोडाफोनले अब प्रो ४ ब्रोडब्यान्ड नामको फिक्स्ड-लाइन सेवा सार्वजनिक गरेको छ। यसले अधिकतम ८ जीबीपीएससम्मको गति उपलब्ध गराउनेछ। यो सेवा यस वर्षको अन्त्यतिर बिक्रीमा आउनेछ। यसमा ट्राइ-ब्यान्ड र वाइफाइ ७ सपोर्ट गर्ने राउटर तथा घरभरि कभरेजका लागि रेन्ज एक्स्टेन्डर उपलब्ध हुनेछन्।

भोडाफोनले सिटीफाइबरसँग मिलेर ५०जी पीओएनमा १० जीबीपीएसको गति पनि परीक्षण गरेको जनाएको छ। यसले भविष्यमा दोहोरो अंकको जीबीपीएस गति उपलब्ध गराउने बाटो खोल्ने कम्पनीको भनाइ छ।

“हाम्रा प्रो ४ परीक्षणले बेलायतभरका ग्राहकलाई वास्तविक ८ जीबीपीएस गति प्रयोग गर्ने सुविधा दिइरहेका छन्। फिफ्टीजी पीओएनमा सफल १० जीबीपीएस परीक्षणसँगै हामीले कृत्रिम बुद्धिमता, क्लाउड र उच्च क्षमताका कनेक्टेड उपकरणमा आधारित घरका लागि नयाँ पुस्ताको कनेक्टिभिटीले के सम्भव बनाउन सक्छ भन्ने देखाइरहेका छौं,” भोडाफोनथ्रीका उपभोक्ता निर्देशक रोब विन्टरस्लाडेनले भने।

भोडाफोनले फाइभजी ब्रोडब्यान्ड इसेन्सियल्स पनि सुरु गरेको छ। यो फिक्स्ड वायरलेस एक्सेस (एफडब्ल्यूए) सेवाका लागि बेलायतको पहिलो सामाजिक ट्यारिफ भएको कम्पनीको दाबी छ। यसको शुल्क प्रतिमहिना ११ पाउन्ड हुनेछ र सुरुवाती शुल्क लाग्ने छैन। कम्पनीले आफ्नो सेक्योर नेट साइबर सुरक्षा सेवामा अभिभावकीय नियन्त्रणका थप सुविधा पनि थपेको छ।

यी सेवा र हालै घोषणा गरिएको टेलिभिजन सेवाले भोडाफोनलाई फिक्स्ड-लाइन बजारमा आफ्नो उपस्थिति विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार