स्टारशिप पहिलोपटक कक्षमा पुग्यो, अबको चुनौती के?

  • Technology Khabar | १६ आश्विन २०८३, शुक्रबार
स्टारशिप पहिलोपटक कक्षमा पुग्यो, अबको चुनौती के?
तस्बिर: स्पेस डटकम

काठमाडौं ।

स्पेसएक्सको विशाल रकेट स्टारशिपले ठूलो उपलब्धि हासिल गरेको छ। तर यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै केही महत्वपूर्ण परीक्षण पार गर्नुपर्नेछ।

स्पेसएक्सको मेगारकेट स्टारशिप सोमबार (सेप्टेम्बर २८) आफ्नो १४औँ परीक्षण उडानका क्रममा पहिलोपटक कक्षमा पुगेको हो। यो अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो र शक्तिशाली प्रक्षेपण यान हो।

फ्लाइट १४ का क्रममा स्टारशिपले स्पेसएक्सका २६ वटा स्टारलिंक भी३ ब्रोडब्यान्ड स्याटेलाइट पनि तैनाथ गरेको छ। यससँगै सबै योजना सफल भएमा अन्ततः १ लाख अन्तरिक्षयान रहने स्टारलिंक भी३ सञ्जाल निर्माणको काम सुरु भएको छ।

स्पेस डटकमका अनुसार यी महत्वपूर्ण सफलता भए पनि स्टारशिप अझै पूर्ण प्राविधिक परिपक्वतामा पुगेको छैन। त्यसका लागि रकेटले केही महत्वपूर्ण चुनौती पार गर्नुपर्नेछ।

स्टारशिपका दुवै चरण—सुपर हेभी बुस्टर र माथिल्लो चरणको स्टारशिप—पूर्ण रूपमा र छिटो पुनः प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन्। नियमित उडानमा स्पेसएक्सले दुवैलाई प्रक्षेपणस्थलमा फर्काएर टावरमा जडान गरिएका ‘चपस्टिक’ हातले समात्ने योजना बनाएको छ।

स्पेसएक्सका अनुसार यो पुनःप्राप्ति विधिले रकेटलाई छिटो र प्रभावकारी रूपमा पुनः प्रयोग गर्न सहयोग गर्नेछ। यसबाट कम्पनीले निकै उच्च संख्यामा प्रक्षेपण गर्न सक्ने अपेक्षा गरेको छ। एलन मस्कले सन् २०३० सम्ममा प्रत्येक वर्ष १० हजार स्टारशिप प्रक्षेपण गर्ने लक्ष्य रहेको बताएका छन्।

स्पेसएक्सले सुपर हेभीलाई ‘चपस्टिक’ हातले समात्ने परीक्षण यसअघि नै तीनवटा स्टारशिप परीक्षण उडानमा सफलतापूर्वक गरिसकेको छ। तर कम्पनीले १७१ फिट (५२ मिटर) अग्लो स्टारशिप माथिल्लो चरणलाई भने अहिलेसम्म समातेको छैन। यसले अहिलेसम्म आफ्ना उडानको अन्त्य समुद्रमा अवतरण गरेर गर्दै आएको छ।

अब यो अवस्था छिट्टै परिवर्तन हुन सक्छ। सेप्टेम्बर १४ मा भएको अल-इन समिटमा मस्कले फ्लाइट १४ सफल भएमा फ्लाइट १५ मा स्टारशिपलाई समात्ने प्रयास गर्न सकिने बताएका थिए।

स्पेसएक्सले फ्लाइट १५ को आधिकारिक उडान योजना सार्वजनिक गरेको छैन। तर फ्लाइट १४ को सफलता हेर्दा स्टारशिपलाई समात्ने योजना अघि बढ्न सक्ने देखिन्छ। आगामी उडानको आधिकारिक मिति पनि तय भएको छैन। प्रारम्भिक योजनाका कागजातमा अक्टोबर १९ लाई सबैभन्दा चाँडो सम्भावित मितिका रूपमा उल्लेख गरिएको छ।

प्रक्षेपणको संख्या बढाउने स्पेसएक्सको योजनामा स्टारशिपका प्रक्षेपणस्थल विस्तार गर्नु पनि समावेश छ। यसअघि स्टारशिपले दक्षिण टेक्सासस्थित कम्पनीको स्टारबेसबाट दुईवटा प्रक्षेपण प्याडबाट उडान गर्दै आएको थियो।

स्पेसएक्सले अहिले फ्लोरिडाको स्पेस कोस्टमा तीनवटा स्टारशिप प्रक्षेपण प्याड निर्माण गरिरहेको छ। साथै, कम्पनीले सन् २०२७ मा १२ वटा प्याड रहेको १०० अर्ब डलरको स्टारशिप लुइजियाना परिसर निर्माणको काम सुरु गर्ने योजना बनाएको छ। त्यसैले आगामी स्टारशिप उडानसँगै यी काम पनि अघि बढ्नेछन्।

स्टारशिपका अधिकांश मिसन पृथ्वीको कक्षमै रहनेछन्। तिनले स्टारलिंक भी३ सञ्जालका लागि स्याटेलाइट तथा कम्पनीको अझ ठूलो ‘स्टारमाइन्ड’ डेटा सेन्टर नेटवर्कका लागि उपकरण तैनाथ गर्नेछन्। सबै योजना सफल भएमा स्टारमाइन्ड नेटवर्कमा करिब १० लाख स्याटेलाइट रहनेछन्।

तर केही मेगारकेट उडानले स्टारशिपलाई चन्द्रमा र मंगल ग्रहसम्म पनि लैजानेछन्। नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि स्टारशिपको माथिल्लो चरणलाई पहिलो मानवयुक्त ल्यान्डरका रूपमा छनोट गरिसकेको छ। आर्टेमिस कार्यक्रमअन्तर्गत आगामी करिब एक दशकमा चन्द्रमाको दक्षिणी ध्रुवनजिक आधार निर्माण गर्ने लक्ष्य छ।

गहिरो अन्तरिक्षमा जाने स्टारशिप मिसन कक्षीय मिसनभन्दा जटिल हुनेछन्, किनभने त्यसका लागि बढी इन्धन आवश्यक पर्छ। स्टारशिपले प्रक्षेपणकै बेला धेरै इन्धन बोक्न सक्दैन, किनभने त्यसो गर्दा यसको तौल धेरै बढ्छ। त्यसैले चन्द्रमा वा मंगल ग्रह जाने प्रत्येक स्टारशिपले पृथ्वीबाहिर निर्माण गरिने इन्धन भण्डारण केन्द्रमा पुगेर इन्धन भर्नुपर्नेछ। यस्तो इन्धन केन्द्र पनि स्टारशिपकै एउटा विशेष संस्करण हुनेछ।

यो इन्धन केन्द्रमा विशेष स्टारशिप ‘ट्यांकर’ यानमार्फत इन्धन पुर्‍याउनुपर्नेछ। प्रत्येक गहिरो अन्तरिक्ष मिसनका लागि कति ट्यांकर उडान आवश्यक पर्छ भन्ने स्पष्ट नभएको स्पेस डटकमले उल्लेख गरेको छ।

तर यसको संख्या उल्लेख्य हुने अनुमान छ। उदाहरणका लागि, चन्द्रमामा स्टारशिप उतार्ने अभियानका लागि केही अनुमानमा कम्तीमा आठवटा ट्यांकर मिसन आवश्यक पर्ने र बढीमा १५ वा २० वटा मिसन आवश्यक पर्न सक्ने बताइएको छ।

त्यसैले अन्तरिक्षमै इन्धन भर्ने क्षमता स्टारशिपले प्रदर्शन गर्नुपर्ने महत्वपूर्ण प्रविधि हो। स्पेसएक्सले यसतर्फ प्रारम्भिक परीक्षण भने गरिसकेको छ। सन् २०२४ को मार्चमा भएको फ्लाइट ३ का क्रममा स्टारशिपभित्रकै एउटा ट्यांकीबाट अर्को ट्यांकीमा इन्धन स्थानान्तरण गर्न कम्पनी सफल भएको थियो।

तर कम्पनीले अहिलेसम्म अन्तरिक्षमा एउटा यानबाट अर्को यानमा इन्धन स्थानान्तरण गरेको छैन। स्पेसएक्सले फ्लाइट १५ मै यस्तो परीक्षण गर्ने निर्णय गर्न सक्छ, तर यो अहिले अनुमान मात्र हो। यसका लागि आधिकारिक मिसन योजना सार्वजनिक नभएसम्म पर्खनुपर्नेछ।

प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...