काठमाडौं ।
बेलायतको प्रतिस्पर्धा अपिल न्यायाधिकरणले एप्पल र अमेजनविरुद्धको उपभोक्ता मुद्दाको केही हिस्सा अघि बढाउन सोमबार अनुमति दिएको छ।
अमेजनको बेलायती बजारमा एप्पलका उत्पादन बिक्रीमा प्रतिस्पर्धा सीमित गरेको आरोपमा दायर मुद्दालाई न्यायाधिकरणले अघि बढाउन अनुमति दिएको हो।
मुद्दामा एप्पल र अमेजनले सन् २०१८ मा अमेजनको बेलायती वेबसाइटमा एप्पल र बिट्स ब्रान्डका उत्पादन बिक्री गर्न पाउने विक्रेताको संख्या सीमित गर्न सहमति गरेको आरोप लगाइएको छ। यसबाट प्रतिस्पर्धा घटेको र उत्पादनको मूल्य बढेको दाबी उपभोक्ताको छ।
तीन न्यायाधीश रहेको न्यायाधिकरणले अमेजनको बजारमार्फत खरिद गरिएका एप्पलका उत्पादनसँग सम्बन्धित दाबीलाई अघि बढाउन अनुमति दिएको छ। तर एप्पल र अन्य खुद्रा विक्रेताबाट प्रत्यक्ष खरिद गरिएका उत्पादनसमेत समेट्ने फराकिलो दाबीलाई भने अस्वीकार गरेको छ।
दाबीकर्ताका अनुसार अघि बढाउन अनुमति दिइएको मुद्दाको यो हिस्सा ब्याजसहित २८ करोड ९० लाखदेखि ३० करोड ६० लाख पाउन्डसम्मको हुन सक्छ।
न्यायाधीश केलिन बेकनले अमेजनको बजारमार्फत भएका खरिदसँग सम्बन्धित दाबीलाई ‘सम्भावित, विश्वसनीय र तथ्यमा आधारित’ रहेको बताइन्। तर अन्य खुद्रा विक्रेतासँग सम्बन्धित फराकिलो दाबी ‘क्षतिको जटिल र अनुमानमा आधारित सिद्धान्त’मा रहेकाले त्यसलाई अस्वीकार गरिन्।
रोयटर्सका अनुसार गत वर्ष उपभोक्ता कानुनकी अध्येता क्रिस्टिन रिफाले दायर गरेको यसै प्रकारको मुद्दालाई न्यायाधिकरणले अघि बढाउन अस्वीकार गरेको थियो। प्रस्तावित वर्ग प्रतिनिधि र मुद्दाको वित्तीय व्यवस्थाबारे चिन्ता देखाउँदै त्यतिबेला मुद्दा अघि बढ्न दिइएको थिएन।
त्यसपछि जस्टिन ले प्याटुरेलले रिफाको स्थानमा उपभोक्ताको प्रस्तावित प्रतिनिधिका रूपमा मुद्दा पुनः दायर गरेका थिए।
न्यायाधिकरणले आफ्नो फैसलामा पुनः बिक्री गर्ने विक्रेतामाथि लगाइएको प्रतिबन्धका कारण अमेजनमार्फत एप्पलका उत्पादन खरिद गर्ने उपभोक्ताले बढी मूल्य तिर्नुपरेको हुन सक्ने दाबी गर्ने आधार रहेको जनाएको छ।
तर एप्पलका आफ्नै पसल वा अन्य खुद्रा विक्रेतामार्फत बिक्री भएका उत्पादनको मूल्य पनि उक्त गतिविधिका कारण बढेको दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण हाल उपलब्ध नरहेको न्यायाधिकरणले जनाएको छ।
प्रकाशित: १३ आश्विन २०८३, मंगलवार