स्पेसएक्सले स्टारशिपको पहिलो कक्षीय उडान सेप्टेम्बर २८ मा गर्ने

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
स्पेसएक्सले स्टारशिपको पहिलो कक्षीय उडान सेप्टेम्बर २८ मा गर्ने
फाइल तस्बिर: टेकक्रञ्च

काठमाडौं ।

स्पेसएक्सले स्टारशिप रकेटको १४औँ परीक्षण उडान सेप्टेम्बर २८ मा गर्ने लक्ष्य राखेको छ। यस उडानमा स्टारशिप पहिलोपटक पृथ्वीको कक्षमा पुग्नेछ र कम्पनीको इन्टरनेट स्याटेलाइट समूहमा पहिलोपटक स्टारलिङ्कभी३ स्याटेलाइट थप्नेछ।

स्पेसएक्सले ७५ मिनेटको प्रक्षेपण समय अमेरिकी पूर्वी समयअनुसार बिहान सवा ८ बजे खुल्ने जनाएको छ। कम्पनीले यसअघि सेप्टेम्बर २२ मा प्रक्षेपण गर्ने योजना बनाएको थियो।

तर एक्समा नयाँ मिति घोषणा गर्दै कम्पनीले मिति परिवर्तनको कारण भने खुलाएको छैन। प्रक्षेपणका लागि नियामकको स्वीकृति भने अझै प्राप्त हुन बाँकी रहेको कम्पनीले जनाएको छ।

 

स्टारशिपका यसअघिका सबै परीक्षण उडान उपकक्षीय थिए। स्पेसएक्सका अनुसार सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै अधिकतम जानकारी प्राप्त गर्न ती उडान उपकक्षीय रूपमा गरिएको थियो।

 

आगामी उडान स्टारशिपलाई वास्तविक भविष्यका उडानका लागि तयार पार्ने र यसको पुनःप्रयोग क्षमता सुनिश्चित गर्ने दिशाको अर्को चरण हुने स्पेसएक्सले जनाएको छ। परीक्षणका क्रममा स्टारशिप पृथ्वीको सतहबाट १७१ माइल माथि पुग्नेछ र करिब १० घण्टाको अवधिमा पृथ्वीको कक्षमा ६ पटक परिक्रमा गर्नेछ।

इन्ग्याजेटका अनुसार स्टारशिपको माथिल्लो चरणले स्पेसएक्सको स्याटेलाइट समूहमा २६ वटा स्टारलिङ्कभी३ स्याटेलाइट पनि पठाउनेछ। स्टारशिपको अघिल्लो परीक्षणमा पहिलोपटक नयाँ पुस्ताका स्याटेलाइट बोकेर लगिएको थियो।

त्यस क्रममा ती स्याटेलाइटले आफ्नो सौर्य प्यानल र एन्टेना विस्तार गरी स्टारलिङ्कसमूहसँग सञ्चार गर्न सक्ने क्षमता मात्र परीक्षण गरेका थिए। त्यसपछि ती स्याटेलाइट पृथ्वीको वायुमण्डलमा प्रवेश गरी नष्ट भएका थिए।

यसपटक अन्तरिक्षमा पठाइने स्टारलिङ्क भी३ स्याटेलाइटले वास्तविक ग्राहकलाई सेवा दिनेछन्। स्टारलिङ्क भी३ स्याटेलाइटले १ टेराबिट प्रतिसेकेन्डसम्मको डाउनलोड गति समर्थन गर्न सक्छन्, जुन भी२ स्याटेलाइटको क्षमताभन्दा १० गुणा बढी हो। त्यस्तै, यसको अपलोड क्षमता १६० गिगाबिट प्रतिसेकेन्डसम्म हुनेछ, जुन भी२ को तुलनामा २२ गुणा बढी हो।

यस उडानमा स्पेसएक्सले प्रक्षेपण टावरका हात प्रयोग गरेर कुनै पनि भाग समात्ने प्रयास गर्ने छैन। स्टारशिपको सुपर हेभी बुस्टर प्रक्षेपणको केही मिनेटपछि मेक्सिकोको खाडीमा खस्नेछ। माथिल्लो चरणले आफ्नो उद्देश्य पूरा गरेपछि प्रशान्त महासागरमा चिली नजिक खस्नेछ।

प्रक्षेपण स्पेसएक्सको एक्स खातामार्फत प्रत्यक्ष हेर्न सकिनेछ।

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार