एआईले चीनमा बलियो आपूर्ति र कमजोर मागबीचको असन्तुलनलाई अझ गहिरो बनाउने

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
एआईले चीनमा बलियो आपूर्ति र कमजोर मागबीचको असन्तुलनलाई अझ गहिरो बनाउने
एआईमार्फत् बनाइएको फाइल तस्बिर

काठमाडौं ।

चीनको केन्द्रीय बैंकका एक सल्लाहकारले कृत्रिम बुद्धिमता (एआई) ले चीनमा बलियो आपूर्ति र कमजोर मागबीचको असन्तुलनलाई अझ गहिरो र लामो बनाउन सक्ने बताएका छन्। उनले अर्थतन्त्रमा उपभोग बढाउने र वित्तीय अवस्था सुधार्ने नीतिहरू आवश्यक रहेको बताएका छन्।

चीनका नीति निर्माताहरूले लामो समयदेखि जारी घरजग्गा क्षेत्रको मन्दी, स्थानीय सरकारको ऋणको दबाब र परिवारहरूको सावधानीपूर्ण खर्चका बीच घरेलु माग बढाउने प्रयास गरिरहेका छन्।

विश्वव्यापी एआईको बढ्दो मागले यस वर्ष चीनको निर्यातलाई सहयोग गरेको छ। यसले कमजोर घरेलु मागका कारण अर्थतन्त्रमा परेको दबाबलाई केही कम गरेको छ।

‘एआईको प्रयोग व्यापक हुँदै जाँदा र नयाँ प्रविधिको विकास तीव्र हुँदै जाँदा बलियो आपूर्ति र कमजोर मागबीचको असन्तुलन अझ बढ्न सक्छ,’ चीनको केन्द्रीय बैंकको मौद्रिक नीति समितिका सदस्य ह्वाङ यिपिङले शनिबार बेइजिङमा आयोजित आर्थिक मञ्चमा भने।

‘छोटो अवधिमा कुल माग र कुल आपूर्तिबीचको असन्तुलन छिट्टै हट्न नसक्ने र केही समयसम्म कायम रहन सक्ने सम्भावना छ,’ उनले थपे।

अमेरिका र उसका केही व्यापारिक साझेदारहरूले चीनलाई अर्थतन्त्रलाई उपभोगतर्फ केन्द्रित गर्दै निर्यातमा निर्भरता घटाउन आग्रह गर्दै आएका छन्। उनीहरूले चीनको अतिरिक्त औद्योगिक उत्पादन क्षमताका कारण सस्ता चिनियाँ वस्तुहरू विश्व बजारमा ठूलो मात्रामा पुगिरहेको बताएका छन्।

चीनले बजारमुखी सुधारलाई थप अघि बढाउनुपर्ने ह्वाङले बताए। स्रोतको बाँडफाँटमा बजारलाई अझ ठूलो भूमिका दिनुपर्ने र अर्थतन्त्रमा परिवारको आम्दानीको हिस्सा बढाउनुपर्ने उनले बताए। बेइजिङले निर्यातमा मात्र निर्भर हुनुको सट्टा विदेशमा लगानी र औद्योगिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि विचार गर्नुपर्ने उनको भनाइ छ।

ह्वाङले स्थानीय सरकार, वित्तीय संस्था र कम्पनीहरूको वित्तीय अवस्था सुधार्न केन्द्रीय सरकारले थप ऋण लिनुपर्ने प्रस्ताव गरे।

‘यी निकायहरूको नयाँ आर्थिक गतिविधि सञ्चालन गर्ने क्षमता पुनर्स्थापित नगरेसम्म प्रोत्साहनका नीतिहरूको प्रभाव सीमित हुनेछ,’ ह्वाङले भने।

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार