काठमाडौं ।
इन्टरनेटका लागि रकम भुक्तान गरेपनि आफूले त्यो बराबरको सेवा नपाएको भन्दै परेको उजुरीमा इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।
गत जेठ १९ गते भक्तपुर ठिमीका शिव प्रसाद पौडेलले दायर गरेको मुद्दामा बिहीबार उपभोक्ता अदालतका न्यायाधीशद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले आंशिक दाबी पुग्ने फैसला सुनाएका हुन्।
फैसलाबारे पुष्टि गर्दै उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलले टेक्नोलोजीखबरलाई भने, ‘क्लासिकटेकले उजुरीकर्तालाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको हो। यसको पूर्णपाठ आउन भने केही समय लाग्न सक्छ।’
यसअघि उनले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत क्लासिक टेकलाई इन्टरनेटका लागि रकम भुक्तान गरे पनि आफूले त्यो बराबरको सेवा नपाएको भन्दै उजुरी दिएका थिए।
पौडेलले आफ्नो इन्टरनेट समस्याबारे कम्पनीका प्रतिनिधिलाई पटक–पटक सम्पर्क गर्दा पनि सेवा सुचारु नगरी दुःख दिएको तथा हप्तौं बित्दा पनि चित्तबुझ्दो जवाफ नपाएको बताएका छन्।
उपभोक्ता अदालतमा दायर गरिएको फिरादपत्रमा क्लासिक टेक र उसका कर्मचारीहरूले ग्राहकको गुनासोलाई वेवास्ता गर्दै लापरवाही, गैरव्यावसायिक व्यवहार, अपहेलना र अपमान गरेको उल्लेख गरिएको थियो।
इन्टरनेट अवरुद्ध हुँदा नेपालको संविधानको धारा २७ (सञ्चार र सूचनाको हक) बाट वञ्चित हुनु परेको, धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने अधिकार) र धारा १७ (अभिव्यक्ति स्वतन्त्रता) मा दखल पुगेको दाबी समेत गरिएको थियो।
‘यो मुद्दासम्म आइपुग्न मैले लामो यात्रा तय गरें। क्लासिक टेकलाई पचासौं फोन र म्यासेज गरें। प्रहरीदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुर, एनटीए, हेलो सरकार, सञ्चार मन्त्रालय, मन्त्री र सांसदहरूसम्म आफ्नो समस्या लिएर पुगें’,शिव प्रकाशले भने।
सबै ठाउँमा पुग्दा समस्या समाधान गर्ने जिम्मेवारी र अधिकार हुँदाहुँदै पनि सबै निरीह जस्तै देखिएको उनले स्मरण गरे। त्यसपछि उपभोक्ता हित संरक्षण मञ्चमा गएर त्यसै मार्फत उपभोक्ता अदातल समेत पुगे । उनले रकम फिर्ताका लागि लागि चालीस दिन कुरे र ४१ औं दिनमा मुद्दा दायर गरे।
सोही मुद्दामा बिहीबार फैसला सुनाइएको हो।
‘यो लडाइँ पैसा वा व्यक्तिगत क्षतिका लागि मात्र होइन। उपभोक्ताले आफ्नो अधिकारका लागि बोल्नुपर्छ भन्ने चेतना फैलाउन, उपभोक्ताको अधिकार स्थापित गर्न र न्यायका लागि पनि हो’, उनले प्रस्ट्याए।
सम्बन्धित समाचार
क्लासिक टेकविरुद्ध १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार