काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका पदाधिकारी तथा मातहतका निकायहरूलाई नागरिकलाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी र कुशल सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्।
आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. तिमिल्सिनाले कर्मचारीहरूलाई संस्थाको जिम्मेवारी र कार्यादेश अनुरूप नतिजामूलक कार्यसम्पादनमा ध्यान केन्द्रित गर्न आग्रह गरे।
“नियमितरूपमा गरिने सामान्य कामहरू मात्र उपलब्धि होइनन्। नागरिकले प्राप्त गरेका सेवा र त्यसको प्रभावले नै कर्मचारीहरूको कार्यसम्पादन कति प्रभावकारी छ भन्ने कुरा झल्काउँछ,” मन्त्री तिमिल्सिनाले भने। उनले अपेक्षित नतिजा हासिल गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
उनका अनुसार मन्त्रालय र मातहतका निकायका प्रमुख तथा कर्मचारीहरू आ-आफ्नो कर्तव्यप्रति जिम्मेवार हुनुपर्छ। संस्थाका उद्देश्यहरू पूरा गर्न नेतृत्व तहमा सक्रिय दृष्टिकोण र जवाफदेहिता अपरिहार्य हुने मन्त्रीले औंल्याए।
समस्या समाधान गर्न समीक्षा बैठक नै कुर्नु नपर्ने बताउँदै उनले विभिन्न प्रस्ताव र विकल्पहरू अघि सारेर समस्याहरू सुल्झाउन सकिने उल्लेख गरे।
सरकारका लक्ष्य र जिम्मेवारीहरू पूरा गर्न मन्त्रालयका सचिव र मातहतका निकायका प्रमुखहरूबीच भएको कार्यसम्पादन सम्झौताको पूर्ण पालना हुनुपर्नेमा मन्त्रीले जोड दिए। उनले प्रधानमन्त्रीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता पनि मातहतका निकायहरूको प्रभावकारी कार्यसम्पादनसँग जोडिएको स्मरण गराएका थिए।
मन्त्रीले कर्मचारीहरूको ध्यानाकर्षण गराएका अन्य विषयहरूमा विनियोजित बजेटको सदुपयोग, समयमै खरिद प्रक्रिया सम्पन्न गर्ने, विभिन्न निकायहरूबीच समन्वय र सहकार्य सुदृढ गर्ने, संस्थागत गोपनीयता कायम राख्ने तथा पेसागत इमानदारी प्रदर्शन गर्ने रहेका थिए।
उनले ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ अघि बढाउनाका साथै संस्थागत सुधारको प्रक्रिया पनि चलिरहेको जानकारी दिए।
समीक्षा बैठकमा मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले मन्त्रालयले नीति, कार्यसम्पादन र बजेटसम्बन्धी गतिविधिहरूलाई तीव्रता दिइरहेको बताए। “पहिलो त्रैमासिकको समग्र अवस्था सन्तोषजनक छ,” उनले भने।
उनले दोस्रो त्रैमासिकदेखि सेवा प्रवाहलाई अझ छिटो, प्रभावकारी र गुनासोमुक्त बनाउन सहज हुने विश्वास व्यक्त गरे। सचिवका अनुसार अनलाइन प्रणालीको कार्यान्वयन, कर्मचारी व्यवस्थापन र आन्तरिक प्रशासनिक सुधारका कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ।
बैठकमा मन्त्रालय र यस मातहतका निकायहरूको पहिलो त्रैमासिक प्रगतिको समीक्षा गरिएको थियो।
प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार