एआईको वास्तविक जोखिम डाटा सेन्टर होइन: अल गोर

  • Technology Khabar | २ आश्विन २०८३, शुक्रबार
एआईको वास्तविक जोखिम डाटा सेन्टर होइन: अल गोर
सांकेतिक तस्बिर। बिङ एआईमार्फत् तयार पारिएको।

काठमाडौं ।

जलवायु परिवर्तनका विषयमा दुई दशकभन्दा बढी समयदेखि आवाज उठाउँदै आएका अल गोरले एआईबारे कुरा गर्दै यसको सबैभन्दा ठूलो जोखिम डाटा सेन्टर नभएको बताएका छन्।

यसै साताको अन्तर्वार्तामा लगानी कम्पनी जेनेरेसन इन्भेस्टमेन्ट म्यानेजमेन्टकी ग्रोथ इक्विटी प्रमुख लिला प्रेस्टनसँगै बोल्दै गोरले एआई डाटा सेन्टरबाट हुने कार्बन उत्सर्जनलाई लिएर भइरहेको चिन्ता बुझ्न सकिने भए पनि यसले मानिसलाई रातभर चिन्तित बनाउनुपर्ने अवस्था नरहेको बताए।

उनका अनुसार एआई उद्योगभित्रैबाट आइरहेका जोखिमसम्बन्धी चेतावनी भने बढी गम्भीर रूपमा लिनुपर्ने विषय हुन्।

गोरले यसअघि पनि एआई डाटा सेन्टरलाई ‘गहिरो चिन्ताको विषय, तर आतंकित हुनुपर्ने अवस्था होइन’ भनेका थिए। उनका अनुसार एआई डाटा सेन्टरबाट हुने कुल उत्सर्जन विश्वभरका खुला ल्यान्डफिलबाट हुने उत्सर्जनको तुलनामा निकै कम छ।

उनले यस्तै ठूलो मात्राको ऊर्जा माग अर्को क्षेत्रमा पनि रहेको बताए। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वभरका एयर कन्डिसनिङ प्रणालीले वार्षिक रूपमा सम्पूर्ण यूरोपेली संघले खपत गर्नेभन्दा बढी विद्युत् प्रयोग गर्छन्।

टेकक्रन्चका अनुसार विश्वका सबैभन्दा तातो र तीव्र रूपमा बढिरहेका क्षेत्रमा एयर कन्डिसनको पहुँच अझै १५ प्रतिशतभन्दा कम रहेकाले सन् २०५० सम्म यसको ऊर्जा माग तीन गुणासम्म बढ्न सक्ने अनुमान छ।

तर डाटा सेन्टरमा प्रयोग हुने ऊर्जाको स्रोतप्रति भने गोर चिन्तित छन्। उनले केही ठूला प्रविधि कम्पनीले नयाँ मिथेन टर्बाइन प्रयोग गर्न थालेको विषयलाई गम्भीर चिन्ताको विषय बताए। उनका अनुसार मुख्य समस्या एआईका लागि ऊर्जा माग बढ्नु मात्र नभई त्यसलाई पूरा गर्न नयाँ ग्यास प्लान्ट निर्माण गर्दा दशकौँसम्म जीवाश्म इन्धनमा आधारित विद्युत् उत्पादन कायम रहन सक्ने जोखिम हो।

गोरले नवीकरणीय ऊर्जा र ब्याट्रीबाट आफ्नो ऊर्जा आवश्यकता पूरा गर्ने कम्पनीलाई आफूले प्राथमिकता दिने बताए। नवीकरणीय ऊर्जा क्रमशः सबैभन्दा सस्तो विकल्प बन्दै गएकाले थप कम्पनी त्यसतर्फ जाने उनको अपेक्षा छ।

उनका अनुसार अमेरिकाका विभिन्न स्थानमा डाटा सेन्टर निर्माणविरुद्ध भइरहेको विरोध कार्बन उत्सर्जनभन्दा पनि स्वचालनका कारण रोजगारी गुम्ने र समाजमा पर्न सक्ने अन्य प्रभावप्रतिको चिन्तासँग जोडिएको हुन सक्छ।

एआई उद्योगका नेताहरूले हालै दिएका जोखिमसम्बन्धी चेतावनीलाई पनि गोरले गम्भीर रूपमा लिएको बताए। उनका अनुसार विगतमा केहीले यस्ता चेतावनीलाई प्रचार रणनीति हुन सक्ने ठाने पनि अहिले त्यस्तो अवस्था नरहेको उनको बुझाइ छ।

उनले एआई प्रणालीका हालैका केही व्यवहारलाई समेत जोखिमको संकेतका रूपमा उल्लेख गरे। उनका अनुसार केही मोडलले नियन्त्रणबाट बाहिर निस्कने, गोप्य रूपमा सहकार्य गर्ने, आफ्नो गतिविधि लुकाउने र भ्रामक व्यवहार गर्ने उदाहरण देखाएका छन्। एन्थ्रोपिकले पनि विभिन्न देशमा जैविक हतियार विकासमा क्लाउडको प्रयोग रोकिएको जनाएको गोरले बताए।

तर गोरका अनुसार एआईको जोखिम र जलवायु क्षेत्रमा एआईले पुर्‍याउन सक्ने योगदान एकअर्काका विपरीत विषय होइनन्। उनले लन्डन स्कुल अफ इकोनोमिक्सका अर्थशास्त्री निकोलस स्टर्नको हालैको अध्ययन उल्लेख गर्दै दक्षता बढाउने र स्रोतको खेर जाने अवस्था घटाउने एआई प्रयोगले अर्को दशकदेखि विश्वव्यापी उत्सर्जनलाई वार्षिक ६ देखि ९ प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको बताए।

यसैबीच, लिला प्रेस्टनले एआई विस्तारसँगै लगानीका नयाँ अवसरहरू पनि सिर्जना भइरहेको बताइन्। उनका अनुसार ऊर्जा खपत कम गर्ने प्रविधिदेखि हरित सिमेन्ट र स्टिल, ऊर्जा भण्डारण, सफ्टवेयर, डाटाबेस डिजाइन तथा विद्युत् ग्रिडको क्षमता र लचकता बढाउने क्षेत्रमा अवसर देखिएको छ।

गोरले विश्वव्यापी ऊर्जा संक्रमणबारे पनि चर्चा गर्दै अहिले स्वच्छ ऊर्जामा हुने लगानी जीवाश्म इन्धनमा हुने लगानीको तुलनामा करिब दोब्बर रहेको बताए। गत वर्ष विश्वभर थपिएको नयाँ विद्युत् उत्पादन क्षमतामध्ये ८६ प्रतिशत नवीकरणीय ऊर्जाबाट आएको र अमेरिकामा यो हिस्सा ९१ प्रतिशत रहेको उनको भनाइ छ।

उनले चीनको स्वच्छ ऊर्जा विस्तारलाई पनि उल्लेख गर्दै उत्सर्जनको तीव्रता घटाउनेभन्दा प्रत्यक्ष रूपमा उत्सर्जन घटाउने विषयमा ध्यान दिन खोजेको बताए।

दिगोपनसम्बन्धी परिवर्तनमा आफूले अपेक्षा गरेभन्दा बढी परिवर्तन भएको विषय सोध्दा गोरले सौर्य ऊर्जालाई प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरे। उनका अनुसार नयाँ विद्युत् उत्पादनमा सौर्य ऊर्जा अहिले लागतका हिसाबले निकै प्रतिस्पर्धी बनेको छ र हावाबाट उत्पादन हुने ऊर्जासँग लगभग समान लागतमा उपलब्ध हुँदै ग्यास, कोइला र आणविक ऊर्जाभन्दा सस्तो छ।

उनले अन्त्यमा आफूले टेनेसीका एक साथीबाट सुनेको भनाइ सुनाउँदै सस्तो र स्वच्छ ऊर्जाको असीमित स्रोत चाहिएको भए आकाशमा फ्युजन रिएक्टर राखिएको हुन्थ्यो भन्दै ठट्टा गरे।

 

प्रकाशित: २ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार