काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृतिम बौद्धिकता (एआइ)को नियमन गर्न समन्वित विश्वव्यापी प्रयासको आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय महासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा गुटेरेसले भने, ‘हामीलाई एआइको सुरक्षित र जिम्मेवार विकासलाई कसरी अगाडि बढाउने भन्ने बारे साझा समझदारी चाहिन्छ, बढ्दो शक्तिशाली प्रणालीलाई बलियो सुरक्षित र सम्भावित जोखिम व्यवस्थापन गर्न वास्तविक अन्तरराष्ट्रिय सहयोग र समन्वित विश्वव्यापी प्रयास आवश्यक छ।’
यसैबीच उनले विश्वले भू–राजनीतिक विभाजनको बीचमा एआई सुरक्षाको दौडमा अपेक्षित उपलब्धि गर्न नुक्ने चेतावनी पनि दिएका छन्।
‘हामीलाई विश्वास निर्माण गर्न र मानवीय मर्यादाका साथ एआइलाई सुरक्षित, पारदर्शी, जवाफदेही बनाउनका लागि आवाश्यक मार्गदर्शन चाहिन्छ यस्तो समयमा विश्वले तीनवटा अस्तित्वगत खतराको सामना गरिरहेको छ। जसमा एआइको प्रभाव, जलवायु सङ्कट र असमानतालगायतका मुख्य विषयमा समझदारी कायम गर्न अन्तरराष्ट्रिय सहयोग पहिलेभन्दा बढी आवश्यक छ,’ उनले भने।
एआईसँग दिगो विकासलाई गति दिन, सिकाइ बढाउन, स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न, जलवायु सङ्कट घटाउन र अन्य धेरैका लागि विशाल सम्भावना रहेको जनाइएको छ। यद्यपी यसको असुरक्षित प्रयोग गर्नेको बढ्दो सङ्ख्याले जोखिम बढाएको चेतावनी दिइएको छ। विकास जोखिमबारे मानविय बुझाइभन्दा अगाडि दौडिरहेकाले आवाश्यक नियमन र व्यवस्थापनको आह्वान गरिएको जनाइएको छ। यस्तो अवस्थामा एआईको विकासको अग्रपङ्क्तिमा रहेका मानिसले उठाएका चिन्तालाई बेवास्ता गर्न नसकिने गटेरेसले बताएका छन्।
सबै राष्ट्रले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, एआई खतरासहित आफ्ना नागरिकको सुरक्षा गर्नु कुनै पनि सरकारको पहिलो जिम्मेवारी यसको लागि विश्वव्यापी समन्वय अपरिहार्य छ, उनले बताए।
पृथक, अप्रमाणित र असमान रूपमा लागु गरिएका स्वैच्छिक उपायले यस्ता जटिल समस्यालाई सम्बोधन नगर्ने गुटेरेसले चेतावनी दिए।
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार