काठमाडौं ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्नुका साथै पूर्वाधार विकासका विद्यमान डिजाइन मापदण्डको पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा मंगलबार आयोजित ‘हिमालय बचाऔँ’ विषयक अन्तरक्रिया कार्यक्रममा हिमालको बदलिँदो अवस्था, हिमतालको विस्तार, हिउँको आवरणमा आएको कमी तथा भविष्यमा आउन सक्ने ठूला विपद्को जोखिमबारे विज्ञहरूले आफ्ना धारणा राखेका हुन्।
कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का पूर्वनिर्देशक बसन्त श्रेष्ठले हिमाली क्षेत्रमा देखिएका पछिल्ला परिवर्तनबारे प्रस्तुति दिए।
उनले हिमाली पहाडहरू क्रमशः कमजोर बन्दै गएको, पर्माफ्रस्ट अर्थात् स्थायी रूपमा जमेको भूभाग पग्लिँदै गएको, बाढीका कारण पहाडका फेदीमा हुने कटानले पहाड तथा हिमालको भिरालोपन बढ्दै गएको र हिमतालको आकार विस्तार भइरहेको तथ्य प्रस्तुत गरे।
त्यसैगरी, तापक्रम वृद्धिका कारण उच्च हिमाली क्षेत्रमा हिउँको आवरण घट्दै गएको अवस्थाप्रति पनि उनले ध्यानाकर्षण गराए। हिमाली क्षेत्रमा निरन्तर तापक्रम वृद्धिका कारण २०८३ भाद्र १० मा आएका जस्ता महाप्रलयकारी बाढी नेपालका अन्य स्थानहरूमा पनि आउन सक्ने संभावना बढेकोले श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ‘बिल्ड ब्याक सेफर’ अर्थात् विपद्पछि अझ सुरक्षित निर्माण गर्ने अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
उनले विपद् आउनुअघि अपनाउनुपर्ने तीनवटा तयारीका चरण तथा विपद्पछि अवलम्बन गर्नुपर्ने पाँचवटा प्रमुख चरणबारे समेत प्रकाश पारे।
मुख्य प्रस्तुतीकरणपछि वरिष्ठ इन्जिनियरहरू विज्ञान श्रेष्ठ, बदनलाल न्याछ्योँ, मोतीबहादुर कुँवर, महेन्द्रबहादुर गुरुङ र सोहन श्रेष्ठ तथा पूर्व विज्ञान शिक्षक मोहनगोपाल न्याछ्योँले नेपालमा विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकताबारे विभिन्न धारणा तथा सुझाव प्रस्तुत गरे।
अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका इन्जिनियर सोजेन प्रधानले अन्तर्राष्ट्रिय अभ्यासअनुरूप नेपालका विद्यालय पाठ्यक्रममा विपद् तथा विपद् जोखिमसम्बन्धी ज्ञानलाई थप समावेश गर्नुपर्ने सुझाव दिए।
इन्जिनियर रोम हर्ष ओलीले भविष्यमा आउन सक्ने ठूला बाढी तथा अन्य विपद्का जोखिमलाई ध्यानमा राख्दै नेपालमा पूर्वाधार विकास आयोजनाका वर्तमान डिजाइन मापदण्डको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए।
एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार भण्डारीले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नवीनतम ज्ञान र प्रविधिको प्रयोगका लागि कलेजले सम्बन्धित विज्ञ तथा व्यावसायिक क्षेत्रसँग सहकार्य गर्न इच्छुक रहेको बताए।
उनले विपद् जोखिम न्यूनीकरणमा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिको प्रयोगसम्बन्धी ज्ञान आदानप्रदानलाई समेत प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको संयोजन कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले गरेका थिए।
एभरेष्ट इन्जिनियरिङ कलेजको आयोजना तथा रोटरी क्लब अफ यलाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार