काठमाडौं ।
चितवनको भरतपुरबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न एक भारतीय नागरिक पक्राऊ परेका छन्।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका–२ आँपटारीस्थित निर्मला बिस्टको घरबाट भारतीय नागरिक २५ वर्षीय कथराम निथिनलाई पक्राउ गरेको हो।
नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा प्रहरीले उनलाई सम्बन्धित उपकरण तथा सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्री अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट २६ थान मोबाइल सेट, दुई थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकम सिमकार्ड, चार थान सीपीयू, एक थान इन्भर्टर, दुई थान ब्याट्री, २० पोर्टका जीएसएम उपकरण ६ थान, ३३ थान यूएसबी सेलुलर मोडेम, यूएसबी औटीजी टू अडियो केबल ३० थान, पाँच पोर्टको एउटा नेटवर्क स्विच, दुई थान इन्टरनेट राउटर र विभिन्न प्रकारका डाटा केबल बरामद गरिएको छ।
अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसूरमा पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १ आश्विन २०८३, बिहीबार