ल्यारी एलिसनले रद्द गरे ७.५ अर्ब डलरसम्मको ओर्याकल सेयर बिक्री योजना

  • Technology Khabar | ३० भाद्र २०८३, मंगलवार
ल्यारी एलिसनले रद्द गरे ७.५ अर्ब डलरसम्मको ओर्याकल सेयर बिक्री योजना

काठमाडौं ।

ओर्याकलले शनिबार कम्पनीका सहसंस्थापक तथा कार्यकारी अध्यक्ष ल्यारी एलिसनले ५ करोडसम्म ओरेकलका सेयर बिक्री गर्ने योजना रद्द गरेको जनाएको छ। शुक्रबारको बजार बन्द मूल्यअनुसार ती सेयरको मूल्य करिब ७.५ अर्ब डलर रहेको थियो।

ओर्याकलले शुक्रबार नियामक निकायमा बुझाएको विवरणमा एलिसनले जुन २२, २०२६ मा उक्त सेयर कारोबार योजना अपनाएको र यो अक्टोबर २४, २०२६ मा समाप्त हुने तय भएको जनाएको थियो।

“उक्त योजनाअन्तर्गत ओर्याकलको कुनै पनि सेयर बिक्री गरिएको छैन र उहाँसँग आफ्नो ओर्याकल सेयर बिक्री गर्ने अन्य कुनै योजना पनि छैन,” ओर्याकलले शनिबार जनाएको छ।

बढ्दो पूँजीगत खर्चले कम्पनीको स्वतन्त्र नगद प्रवाहमा दबाब परेको भन्दै लगानीकर्ताको चिन्ता बढेपछि ओर्याकलको सेयर मूल्य यस वर्ष घटेको छ।
यस वर्ष हालसम्म कम्पनीको सेयर मूल्य करिब २३ प्रतिशतले घटेको छ।

रोयटर्सका अनुसार एलिसनले उक्त योजना अपनाउनुअघि जुन १८ मा भएको अन्तिम कारोबार दिनको बन्द मूल्यभन्दा सेयर १८ प्रतिशतभन्दा बढी तल थियो।

एलिसनले आफ्नो सेयर कारोबार योजना किन रद्द गरे भन्ने कारण ओरेकलले खुलाएको छैन।

८२ वर्षीय एलिसन सन् २०१४ सम्म ओर्याकलका सीईओ थिए। एलएसईजीको तथ्यांकअनुसार उनी कम्पनीका सबैभन्दा ठूला सेयरधनी हुन् र उनको स्वामित्वमा कम्पनीको ३८ प्रतिशतभन्दा बढी सेयर छ।

यसै साताको सुरुमा ओर्याकलले वाल स्ट्रिटको अनुमानभन्दा राम्रो त्रैमासिक नतिजा र अपेक्षाभन्दा कम नगद खर्च भएको रिपोर्ट गरेको थियो। यसले ऋणको भरमा कम्पनीले बढाएको खर्चप्रतिको केही चिन्ता कम गरेको थियो र शुक्रबार कम्पनीको सेयर मूल्य बढेको थियो।

तर पछि विश्लेषकहरूले नगद प्रवाहमा सुधार आउन अझै समय लाग्ने बताएपछि कम्पनीको सेयर मूल्य फेरि घटेको थियो।

कम्पनीले रोजगारी कटौतीसमेत समेटिएको आफ्नो योजनाअन्तर्गत पुनर्संरचना खर्च करिब ७० करोड डलरले बढ्ने पनि घोषणा गरेको छ।

प्रकाशित: ३० भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...