ह्वाट्सएपले टु स्टेप भेरिफिकेसनका लागि प्रयोग हुँदै आएको ६ अंकको पिन हटाउने

  • Technology Khabar | २३ भाद्र २०८३, मंगलवार
ह्वाट्सएपले टु स्टेप भेरिफिकेसनका लागि प्रयोग हुँदै आएको ६ अंकको पिन हटाउने

काठमाडौं ।

ह्वाट्सएपले प्रयोगकर्ताको एकाउन्ट सुरक्षासम्बन्धी आफ्नो प्रणालीमा परिवर्तन गर्दै टु स्टेप भेरिफिकेसनका लागि प्रयोग हुँदै आएको ६ अंकको पिन हटाउने भएको छ।

यसको सट्टामा अब थप सुरक्षित पासवर्ड प्रयोग गरिनेछ। अपरिचित नम्बरबाट आफ्नो शंकास्पद कल पहिचान गर्न ह्वाट्सएपले नयाँ उपकरणहरु पनि ल्याउँदैछ।

नयाँ नियम अनुसार प्रयोगकर्ताले कम्तीमा ८ अक्षरको पासवर्ड राख्नुपर्ने छ। उक्त पासवर्डमा अक्षर र अंकको संम्योजन हुनुपर्ने छ भने प्रयोगकर्ताले विशेष चिन्हहरु पनि थप्न सक्नेछन्।

टेलिग्राफका अनुसार अगाडि नै उक्त सुरक्षा सक्रिय गरेका प्रयोगकर्ताले एकाउन्टको सेटिङ मार्फत पुरानो पिनलाई नयाँ सुरक्षा कोडले प्रतिस्थापन गर्न सक्ने छन्।

एकाउन्ट रिकभरीको लागि इमेल महत्वपूर्ण

ह्वाट्सएपले अब एकाउन्टलाई इमेल ठेगानासँग लिंक गर्नु पर्ने व्यवस्था पनि गर्दै छ। विशेषगरी प्रयोगकर्ताले आफ्नो पासवर्ड बिर्सिएको अवस्थामा अकाउन्टमा पुन पहुँच प्राप्त गर्न इमेल ठेगााना महत्वपूर्ण हुने बताएको छ।

प्रामाणिक इमेल नभएको अवस्थामा आफ्नो प्रोफाइल रिकभर गर्ने विकल्प सिमित हुने बताइएको छ। ह्वाट्सएपका अनुसार यी परिवर्तनको उदेश्य एकाउन्टको सुरक्षा अझ बलियो बनाउनु र एसएमएस कोडमार्फत हुने ठगि तथा एकाउन्ट कब्जा गर्ने प्रयासलाई कठिन बनाउनु रहेको छ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि विशेषगरि अनावश्यक तथा अपरिचित कलबाट सुरक्षा गर्न थप परिवर्तनहरु पनि ल्याउँदै छ।

प्रयोगकर्ताले अपरिचित नम्बरबाट कल प्राप्त गर्दा ह्वाट्सएपले अब कल गर्ने व्यक्तिसम्बन्धी थप जानकारी देखाउनेछ।

यसमा कल कुन देशबाट आएको हो र कल गर्ने व्यक्ति तथा प्रयोगकर्ताबीच कुनै ग्रुप छ कि छैन भन्ने जानकारी समेत समावेश हुने छ।
नयाँ अपडेटहरु ह्वाट्सएपका नयाँ संकरणमार्फत प्रयोगकर्तामामाझ उपलब्ध गराइँदै गरेको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार