काठमाडौं ।
नेपालमा मोबाइल डाटा प्रयोग विस्फोटक रूपमा बढे पनि त्यसअनुसार दूरसञ्चार कम्पनीको डाटा आम्दानी बढ्न सकेको छैन। यसको प्रमुख कारण डाटा सेवाको मूल्यमा आएको ठूलो गिरावट रहेको एक अध्ययनले देखाएको छ।
२०१४ देखि २०२४ सम्म नेपालको दूरसञ्चार क्षेत्रको अध्ययन गरेको अनुसन्धानअनुसार यस अवधिमा प्रतिग्राहक डाटा खपत ८३३.३३ प्रतिशतले बढेको छ। तर डाटा सेवाबाट हुने आम्दानी भने ३७७.५९ प्रतिशत मात्रै बढेको छ। यसबीच डाटा सेवाको एकाइ मूल्यमा भने ९६.८४ प्रतिशत गिरावट आएको छ।
नेपालमा फोरजी सेवा सुरु भएपछि डाटा खपत तीव्र गतिमा बढेको अध्ययनले देखाएको छ। २०१७ मा ४२.६३ मिलियन टेराबाइट रहेको डाटा खपत २०२४ मा बढेर ८९२.३४ मिलियन टेराबाइट पुगेको छ। अर्थात् सात वर्षमा डाटा खपत करिब २१ गुणा बढेको हो।
तर यही अवधिमा डाटा सेवाबाट प्राप्त आम्दानीको वृद्धि तुलनात्मक रूपमा निकै कमजोर रह्यो। २०१७ मा डेटा आम्दानी १४.५६ अर्ब रुपैयाँ रहेकोमा २०२४ सम्ममा यो २०.२५ अर्ब रुपैयाँ पुगेको अध्ययनमा उल्लेख छ। २०२३ मा मात्रै ७८९.८० मिलियन टेराबाइट डाटा खपत हुँदा डेटा आम्दानी १९.६६ अर्ब रुपैयाँ रहेको थियो।
अनुसन्धानले यसलाई ‘डाटा रिभेन्यु प्याराडक्स’ का रूपमा व्याख्या गरेको छ। अर्थात् प्रयोगकर्ताले धेरैभन्दा धेरै डाटा प्रयोग गरिरहेका छन्, तर त्यसबाट टेलिकम कम्पनीले समान अनुपातमा आम्दानी गर्न सकेका छैनन्। यसको मूल कारण डाटा शुल्कमा आएको तीव्र गिरावट हो।
अनुसन्धानको राजस्व विघटन विश्लेषणअनुसार २०१४ देखि २०२४ सम्म डाटा राजस्वमा भएको ३७७.५९ प्रतिशत वृद्धिमा डाटा खपतको मात्रा बढ्नुले १,२५० प्रतिशतको सकारात्मक प्रभाव पारेको थियो। तर डाटा एकाइ मूल्यमा आएको गिरावटले ८७२ प्रतिशतको नकारात्मक प्रभाव पारेको थियो।
डाटा सेवाको मूल्यमा आएको गिरावट निकै ठूलो छ। २०१४ मा प्रतिमेगाबाइट डाटा मूल्य ०.९५ रुपैयाँ रहेकोमा २०१७ मा ०.७८ रुपैयाँ र २०२४ मा घटेर ०.०३ रुपैयाँ पुगेको अध्ययनले देखाएको छ। २०१७ देखि २०२४ बीच डाटा मूल्य करिब २६ गुणाले घटेको छ।
अनुसन्धानले यस्तो मूल्य गिरावटमा तीव्र प्रतिस्पर्धा, नियामकीय दबाब र महामारीका कारण सस्तो इन्टरनेटको माग बढ्नुजस्ता कारण रहेको उल्लेख गरेको छ।
अर्कोतर्फ ओटीटी सेवाको विस्तारले डाटा खपत भने बढाएको छ। अध्ययनको ‘अल्मोस्ट आइडियल डिमान्ड सिस्टम’ (एआईडीएस) मोडलले ओटीटीको प्रयोग बढ्दा भ्वाइस सेवाको हिस्सा घट्ने तर डाटा सेवाको माग बढ्ने देखाएको छ। ओटीटी प्रवेशको भ्वाइस सेवासम्बन्धी गुणांक -०.००२१ र डेटा सेवासम्बन्धी गुणांक +०.००१८ रहेको छ।
तर डाटा खपत बढ्नु मात्रै टेलिकम कम्पनीका लागि पर्याप्त आम्दानीको आधार बन्न नसकेको अध्ययनको निष्कर्ष छ। परम्परागत भ्वाइस आम्दानी घट्दै जाने र डाटा सेवामा पनि मूल्य घट्दै जाने अवस्थाले दूरसञ्चार कम्पनीलाई नयाँ व्यवसायिक मोडल, मूल्य निर्धारण रणनीति तथा मूल्य अभिवृद्धि सेवातर्फ जानुपर्ने अवस्था सिर्जना गरेको छ।
-त्रिभुवन विश्वविद्यालय पुल्चोक इञ्जिनीयरिङ क्याम्पस अन्तर्गत इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागका, नेपाल टेलिकमको कर्णाली प्रदेश निर्देशनालयका मधु सुदन दाहालको साइन्सडिरेक्ट जर्नलमा प्रकाशित ‘टेलिकम्स अन्डर प्रेसर: एनालाइजिङ द ट्रिपल थ्रेट अफ ओटीटी, हाइ फीज/ट्याक्सेज एण्ड पोलिसी ग्याप्स इन नेपाल’ लेखमा आधारित
प्रकाशित: २३ भाद्र २०८३, मंगलवार