काठमाडौं ।
गुगलले अब छिटो र सटीक मौसम अपडेट उपलब्ध गराउन एआईको प्रयोग गरिरहेको छ। गुगलको डीपमाइन्ड र रिसर्च डिभिजनले वेदरनेक्स्ट ३ सार्वजनिक गरेका छन्। यो स्थानीय मौसमको पूर्वानुमान गर्न प्रयोग हुने नयाँ एआईमा आधारित मौसम पूर्वानुमान मोडल हो।
कम्पनीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उन्नत विश्वव्यापी मौसम पूर्वानुमान प्रणाली हो। यसले वास्तविक समयका स्याटेलाइट अवलोकन प्रयोग गरेर हरेक घण्टा मौसमको पूर्वानुमान गर्न सक्छ।
गुगलले तपाईंको क्षेत्रमा मौसम पूर्वानुमान गर्न वेदरनेक्स्ट ३ ले प्रत्यक्ष स्याटेलाइट तस्बिर र मौसम स्टेसनबाट प्राप्त तथ्यांक प्रयोग गर्ने जनाएको छ। यसले मौसममा तीव्र रूपमा परिवर्तन भइरहेका अवस्थामा त्यसअनुसार छिटो प्रतिक्रिया दिन र परम्परागत प्रणालीमा देखिने पूर्वानुमान ढिलाइ कम गर्न सहयोग गर्नेछ।
गुगलका अनुसार नयाँ मोडलले ५ किलोमिटरसम्मको रिजोलुसनमा मौसम पूर्वानुमान गर्न सक्छ। यो वेदरनेक्स्ट २ को तुलनामा ठूलो सुधार हो। वेदरनेक्स्ट २ ले अधिकतम २५ किलोमिटरको ग्रिडमा मौसम पूर्वानुमान गर्न सक्थ्यो।
कम्पनीका अनुसार उच्च रेजोल्युसनका कारण तापक्रम, आर्द्रता र वर्षालगायत स्थानीय मौसमका अवस्थाबारे अझ विस्तृत जानकारी प्राप्त गर्न सकिने टेकटू डटकमले उल्लेख गरेको छ।
के प्रयोगकर्ताले आफ्नै दैनिक मौसम पूर्वानुमान र अपडेटका लागि नयाँ एआई मोडल प्रयोग गर्न पाउँछन्? गुगलले वेदरनेक्स्ट ३ लाई सर्च, म्याप्स र जेमिनीलगायत आफ्ना विभिन्न उत्पादनमा समावेश गर्ने योजना रहेको जनाएको छ। कम्पनीले क्लाउड सेवा र डेभलपर प्लेटफर्ममार्फत पनि यो एआईमा आधारित मौसम प्रविधि उपलब्ध गराउने भएको छ।
गुगलका अनुसार नयाँ र सुधारिएको मौसम पूर्वानुमानले कृषि, नवीकरणीय ऊर्जा, यातायात तथा विपद् पूर्वतयारीजस्ता क्षेत्रमा पनि फाइदा पुर्याउन सक्छ। नेपालमा हालै आएको बाढीजस्ता घटनाको पूर्वानुमान र विश्लेषणमा पनि यस्ता तथ्यांक उपयोगी हुन सक्छन्।
गुगलले पछिल्लो समय आफ्ना विभिन्न सुविधामा मौसमलाई पनि प्राथमिकता दिँदै सुधार गरिरहेको छ। भूकम्पको पूर्वसूचना दिने उपकरण यसको पछिल्लो सुविधामध्ये एक हो।
त्यस्तै, कारभित्र स्क्रिन प्रयोग गर्दा मोसन सिकनेस अर्थात् यात्रा गर्दा हुने वाकवाकी कम गर्न सहयोग गर्ने सुविधा पनि गुगलले उपलब्ध गराएको छ। यी सुविधाहरू पिक्सेल फोन प्रयोगकर्ताका लागि उपलब्ध छन् र आगामी दिनमा थप प्रयोगकर्तामाझ विस्तार हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २३ भाद्र २०८३, मंगलवार