विद्यालयमा एआई प्रयोगमा रोक: न्यूयोर्कका मेयरले बालबालिकाका लागि जेनेरेटिभ एआई किन प्रतिबन्ध लगाए

  • Technology Khabar | २३ भाद्र २०८३, मंगलवार
विद्यालयमा एआई प्रयोगमा रोक: न्यूयोर्कका मेयरले बालबालिकाका लागि जेनेरेटिभ एआई किन प्रतिबन्ध लगाए

काठमाडौं ।

विश्वभर एआई उपकरणको प्रयोग र सीप विकासलाई प्रोत्साहन गरिरहेका बेला न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले भने फरक नीति अघि सारेका छन्।

उनले न्यूयोर्क सिटीका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि जेनेरेटिभ एआई उपकरण प्रयोगमा प्रतिबन्ध लगाएका छन्। बालबालिकाले आधारभूत कामका लागि एआईमा निर्भर नभई आफैं सोच्न सकून् भन्ने उद्देश्यले यो नीति ल्याइएको हो।

‘बालबालिकालाई सिक्न र हुर्कन शिक्षक तथा मानवीय सम्बन्ध आवश्यक हुन्छ,’ ममदानीले यसै साता जारी गरेको प्रेस विज्ञप्तिमा भनेका छन्। नयाँ नियम न्यूयोर्क सिटीका सार्वजनिक विद्यालयमा कक्षा ८ सम्मका विद्यार्थीमा लागू हुनेछ। ‘उनीहरूले आफ्ना साथीहरूसँगै सीप विकास गर्न, शिक्षकसँग सम्बन्ध बनाउन र कठिन समस्याको समाधान आफैं गर्न सिक्न आवश्यक छ,’ उनले भने।

एआई प्रयोगमा कडा नियम

किन्डरगार्टेनदेखि कक्षा ८ सम्मका विद्यार्थीले प्रयोग गर्ने एआई उपकरणमा प्रतिबन्ध लगाइएको छ। उनीहरूले गृहकार्य वा परीक्षाको अभ्यासका लागि एआई ट्युटरको समेत प्रयोग गर्न पाउने छैनन्। ‘प्रविधि उद्योगले एआईमा आधारित प्रारम्भिक शिक्षालाई अपरिहार्य मात्र होइन, आवश्यक पनि भएको विश्वास दिलाउन खोजिरहेको छ। हामी यसलाई त्यसरी हेर्दैनौं,’ ममदानीले भने।

टेकटू डटकमका अनुसार ममदानीको कार्यालयले तोकेको सुरक्षा मापदण्ड पूरा नगर्ने एआई उपकरणलाई विद्यालयहरूमा निष्क्रिय गरिनेछ। त्यसैले विद्यार्थीले च्याटजीपीटी, क्लाउड वा अन्य च्याटबोट प्रयोग गर्दै आएका भए पनि यो प्रतिबन्ध कक्षा ८ सम्म लागू हुनेछ।

यी नियम कक्षा ८ सम्म लागू हुनेछन्। त्यसभन्दा माथिल्लो तहका विद्यार्थीलाई भने एआई उपकरण र कार्यक्रम प्रयोग गर्ने अवसर दिइनेछ। हाईस्कुलका विद्यार्थीलाई प्रत्येक वर्ष बढीमा ४५ मिनेटसम्म एआईसम्बन्धी आलोचनात्मक सोच वा एआई साक्षरताका मोड्युलमा सहभागी गराइनेछ।

उनीहरूलाई एआईको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिनुका साथै यसका नकारात्मक प्रभाव र भविष्यमा करियरका लागि यसको सम्भावनाबारे पनि जानकारी दिइनेछ।

बालबालिकाका लागि थप परिवर्तनको तयारी

ममदानीले विद्यालयमा बालबालिकाले प्राकृतिक रूपमा सिक्ने वातावरण सुनिश्चित गर्न थप योजना पनि अघि सारेका छन्। उनले कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि स्क्रिन प्रयोगको समय करिब ३५ मिनेटमा सीमित गर्न चाहेका छन्। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि भने यो समय ४५ मिनेटसम्म राखिनेछ।

प्रकाशित: २३ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार