काठमाडौं ।
प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार तथा सूचना सम्प्रेषण गर्दा मानवीय संवेदनशीलता र व्यक्तिको मर्यादालाई विशेष ध्यान दिन सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ।
काउन्सिलले जारी गरेको ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ अन्तर्गत फोटो तथा भिडियो सामग्री प्रकाशन–प्रसारणका लागि विशेष मापदण्ड तय गरेको हो।
निर्देशिकाअनुसार सामान्यतः क्षतविक्षत शव वा शरीरका अङ्ग स्पष्ट देखिने दृश्य, अत्यधिक रक्ताम्मे वा बीभत्स दृश्य, मृतकको अनुहार अनावश्यक रूपमा स्पष्ट देखिने दृश्य तथा गम्भीर घाइते व्यक्ति पीडाले छटपटाइरहेको क्लोजअप सम्प्रेषण गर्न नहुने उल्लेख छ।
त्यस्तै, मृतकका आफन्त वा बालबालिकाको अत्यन्त निजी शोकलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्ने, उद्धार वा उपचारका क्रममा व्यक्तिको मर्यादा तथा गोपनीयतामा आँच पुग्ने दृश्य र शव निकाल्ने वा मृत शरीर व्यवस्थापन गर्ने प्रक्रियाको अनावश्यक क्लोजअपसमेत सार्वजनिक नगर्न भनिएको छ।
काउन्सिलले असाधारण सार्वजनिक हितका कारण संवेदनशील दृश्य प्रयोग गर्नुपर्ने अवस्था आएमा सम्पादकीय तहबाट त्यसको औचित्य परीक्षण गर्नुपर्ने जनाएको छ। सम्भव भएसम्म अनुहार वा पहिचान ढाक्ने, दृश्यको अवधि सीमित गर्ने, आवश्यक पूर्वसूचना दिने तथा कम हानिकारक वैकल्पिक दृश्य प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकाले वेबसाइट तथा सामाजिक सञ्जालका थम्बनेल, कभर तस्बिर र अटोप्ले प्रिभ्युमा समेत बीभत्स दृश्य राख्न नहुने स्पष्ट गरेको छ।
प्रेस काउन्सिलले विपद्सम्बन्धी समाचार सम्प्रेषणमा सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धाभन्दा सही, पुष्टि भएको र जीवनोपयोगी सूचना दिन प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
प्रकाशित: २३ भाद्र २०८३, मंगलवार