सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै अमेरिकाले हिलियमलाई घोषणा गर्‍यो अत्यावश्यक सामग्री

  • Technology Khabar | ९ कार्तिक २०८३, सोमबार
सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै अमेरिकाले हिलियमलाई  घोषणा गर्‍यो अत्यावश्यक सामग्री
तस्बिर: लाइभसाइन्स

काठमाडौं ।

सेमिकन्डक्टर उत्पादनका लागि अपरिहार्य रहेको र विश्वव्यापी आपूर्ति अवरुद्ध हुने जोखिम रहेको भन्दै अमेरिकाले शुक्रबार हिलियमलाई अत्यावश्यक सामग्री घोषणा गरेको छ।

अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार ऊर्जा उत्पादनका लागि आवश्यक सेमिकन्डक्टर बनाउन हिलियमको महत्त्वपूर्ण भूमिका छ।

ऊर्जा मन्त्रालयले हिलियमलाई अत्यावश्यक सामग्रीको सूचीमा राखेसँगै यसका उत्पादकले थप संघीय वित्तीय सहायता प्राप्त गर्न सक्नेछन्। साथै, सरकारले यसको आपूर्तिमाथि अझ नजिकबाट निगरानी गर्नेछ।

हिलियम मुख्यतः प्राकृतिक ग्यास प्रशोधन गर्दा उपउत्पादनका रूपमा प्राप्त हुन्छ। अमेरिका प्राकृतिक ग्यास र हिलियम दुवैको विश्वकै सबैभन्दा ठूलो उत्पादक हो। कतार र रुस पनि हिलियमका प्रमुख उत्पादक हुन्।

इजरायल र अमेरिकासँगको युद्धका कारण इरानले होर्मुज जलडमरूमध्य बन्द गरेपछि कतारबाट हुने हिलियम निर्यातमा गम्भीर असर परेको छ। कतारका पूर्वाधारमा इरानले गरेका आक्रमणले पनि आपूर्तिमा प्रभाव पारेका छन्। रुसले आफ्नो घरेलु आपूर्ति जोगाउन अप्रिलमा हिलियम निर्यातमा अस्थायी नियन्त्रण लगाएको थियो।

एपीन्युजका अनुसार अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले ट्रम्प प्रशासनले अत्यावश्यक सामग्रीका लागि विदेशी स्रोतमा रहेको अमेरिकाको निर्भरता घटाउँदै घरेलु उत्पादनलाई बलियो बनाउने, अमेरिकी रोजगारीलाई सहयोग गर्ने तथा अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने काम गरिरहेको बताए।

“राष्ट्रपति ट्रम्पले अमेरिकाको उत्पादन उद्योगलाई पुनः बलियो बनाउँदै हुनुहुन्छ। यसको अर्थ अमेरिकामै फेरि वस्तु उत्पादन गर्न आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्नु पनि हो,” राइटले विज्ञप्तिमा भने।

ऊर्जा मन्त्रालयले पहिचान गरेको २०औँ अत्यावश्यक सामग्री हिलियम

इस्पात उत्पादनमा प्रयोग हुने धातुकर्मसम्बन्धी कोइला सन् २०२५ मा अत्यावश्यक सामग्रीको सूचीमा थपिएको पछिल्लो सामग्री थियो। हिलियमबाहेक उक्त सूचीमा रहेको अर्को ग्यास फ्लोरिन हो।

अत्यावश्यक सामग्रीको सूचीमा पर्न कुनै गैरइन्धन खनिज तत्त्व वा पदार्थले एक वा एकभन्दा बढी ऊर्जा प्रविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। साथै, त्यसको आपूर्ति शृङ्खला अवरुद्ध हुने जोखिम उच्च हुनुपर्छ।

हिलियम प्रयोग गर्दा बेलुनहरू माथि उठ्छन्, तर अमेरिकी ऊर्जा मन्त्रालयले यसमा चासो देखाउनुको कारण त्यो होइन। हिलियमले वायु ऊर्जा, सौर्य ऊर्जा र आणविक ऊर्जा उत्पादन, अन्तरिक्ष अन्वेषण, चिकित्सा इमेजिङ तथा अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्छ।

अमेरिकी ऊर्जा मन्त्रालयकी सहायक मन्त्री अड्रे रोबर्टसनले हिलियमका विशिष्ट गुणका कारण यसको विकल्प भेट्टाउन कठिन रहेको बताइन्। यो नजल्ने ग्यास हो र सबै ग्यासमध्ये यसको उम्लने तापक्रम सबैभन्दा कम छ। सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ, सुपरकम्प्युटिङ र सुपरकन्डक्टिङ चुम्बकका लागि अमेरिकालाई पर्याप्त हिलियम आवश्यक रहेको उनले बताइन्। रोबर्टसनले अत्यावश्यक खनिज तथा ऊर्जा नवप्रवर्तन कार्यालयको नेतृत्व गर्छिन्।

“हामीले यी प्रविधि अमेरिकामै निर्माण गर्न सक्ने सुनिश्चित गर्नुपर्छ। हिलियम त्यस्ता सामग्रीमध्ये एक हो, जसको अभावले सम्पूर्ण प्रणाली नै प्रभावित हुन सक्छ। हामीले यस्तो अवस्था आउन दिनु हुँदैन। त्यसैले कानुनी अधिकार प्रयोग गरेर यसलाई अत्यावश्यक सामग्री घोषणा गरेका हौँ। तर यसको महत्त्व जन्मदिन मनाउन प्रयोग गरिने ग्यासमा सीमित छैन,” रोबर्टसनले एक अन्तर्वार्तामा भनिन्। “यो वास्तवमा भविष्यमा अमेरिकाको प्रतिस्पर्धात्मक क्षमता र ऊर्जा सुरक्षासँग सम्बन्धित विषय हो। हामी ऊर्जा सुरक्षालाई राष्ट्रिय सुरक्षाकै हिस्सा मान्छौँ।”

सेमिकन्डक्टर उद्योग संघका उपाध्यक्ष डेभिड आइज्याक्सले हिलियमले यस उद्योगमा शीतलीकरण, फोटोलिथोग्राफी र चुहावट पत्ता लगाउने प्रक्रियालगायतका काममा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

“सेमिकन्डक्टरको आपूर्ति शृङ्खलालाई अझ भरपर्दो बनाउन अमेरिका र विश्वभरका सरकारी तथा औद्योगिक क्षेत्रका नेतृत्वकर्तासँग सहकार्य जारी राख्न हामी उत्सुक छौँ,” आइज्याक्सले भने।

अमेरिकाले अत्यावश्यक खनिज र अत्यावश्यक सामग्री दुवैको सूची बनाउँछ। यी दुई सूचीमा केही सामग्री साझा रूपमा समावेश छन्। अमेरिकी भूगर्भ सर्वेक्षणले सन् २०१८ मा हिलियमलाई अत्यावश्यक खनिजको सूचीमा राखेको थियो। तर त्यसपछिका सूचीमा यसलाई समावेश गरिएन, किनभने अमेरिकाभित्र हिलियमको आपूर्ति सुरक्षित रहेको ठानिएको थियो।

प्रकाशित: ९ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार