काठमाडौं ।
सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप सार्वजनिक गरिएको छ।
उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइ पुग्न कति समय लाग्छ, जस्ता जानकारी लिनका लागि उक्त एप काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेकी हुन्।
यो एपबाट जीपीएस जडान भएका करिब १ हजार २ सय सवारी साधनका बारेमा जानकारी लिन सकिन्छ। यसलाई बढाउँदै लगिने प्राधिकरणको योजना छ।
बैठकमा अध्यक्ष डंगोलले, उपत्यकाभित्रको दिनमा चल्ने यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउन तथा रात्रिकालीन सेवालाई विस्तार गर्न र स्कूल कलेज जानु पर्ने विद्यार्थीहरुका लागि बिहान सबैरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकोले यसका लागि स्थानीय तहहरुका बिचमा वित्तीय साझेदारी सहितको प्रणालीमा काम गर्नु पर्ने बताइन।
बैठकका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले, सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताए।
यस वर्षका लागि बस स्टपर पिक ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनको सर्त, सम्झौताको मोडल तयार गरि नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बस पार्क आदिमा जीपीएस ट्र्याकिङ् समेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणालीको जडान, नगद रहित भाडादर लागू गर्न कानूनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन्।
प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार