काठमाडौं ।
ओम्डियाको एक्सआर नियर-आई डिस्प्ले बजारसम्बन्धी प्रक्षेपणअनुसार सन् २०३० मा विश्वव्यापी एआर डिस्प्लेको ढुवानी २ करोड १० लाख युनिट पुग्नेछ। यो संख्या भीआर डिस्प्लेको १ करोड ९० लाख युनिटको ढुवानीभन्दा बढी हुनेछ। उत्पादकहरू हलुका स्मार्ट ग्लास डिजाइनतर्फ अघि बढेसँगै माइक्रोडिस्प्ले उद्योगमा मागको स्वरूपमा व्यापक परिवर्तन भइरहेको ओम्डियाले जनाएको छ।
सामान्य हिसाबले एआर भन्नाले अग्मेन्टेड रियालिटी तथा भीआर भन्नाले भर्चुअल रियालिटी प्रविधि वा डिभाइस भन्ने बुझिन्छ।
एआई/एआर ग्लास बजारले कार्यक्षमता, डिभाइसको तौल र ब्याट्री जीवनबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेको छ। “उत्पादकहरूलाई यी तीनवटै पक्षलाई एकैपटक अनुकूलन गर्न कठिन भइरहेको” ओम्डियाले जनाएको छ।
यसले रे-ब्यान मेटालाई एउटा उदाहरणका रूपमा प्रस्तुत गरेको छ। यसमा डिस्प्ले मोड्युल हटाएर एआई कम्प्युटिङ तथा अडियो–भिजुअल इनपुटमा ध्यान केन्द्रित गरिएको छ। ओम्डियाका अनुसार यसले कार्यक्षमता, डिभाइसको तौल र ब्याट्री जीवनबीच सन्तुलन कायम गर्न तथा यस्ता डिभाइसमा डिस्प्लेको भूमिकाबारे पुनर्विचार गर्ने उद्योगको प्रयासलाई देखाउँछ।
टेलिकम्स डटकमका अनुसार यसै कारण एक्सआर नियर-आई डिस्प्ले बजारमा “महत्त्वपूर्ण संरचनात्मक परिवर्तन” भइरहेको ओम्डियाको विश्वास छ। यसको प्रक्षेपणअनुसार सन् २०३२ सम्ममा भीआर डिस्प्ले बजारको हिस्सा हालको ७२ प्रतिशतबाट घटेर ४३ प्रतिशतमा आउनेछ भने एआर डिस्प्लेको हिस्सा २८ प्रतिशतबाट बढेर ५७ प्रतिशत पुग्नेछ।
ओम्डियाको डिस्प्ले अभ्यासका प्रमुख विश्लेषक जे शाओले भने, “हलुका डिभाइसतर्फको परिवर्तनले स्मार्ट ग्लासको डिजाइनलाई नयाँ स्वरूप दिइरहेको छ। प्रयोगकर्ताको अनुभवमा एआईको भूमिका बढ्दै जाँदा उत्पादकहरूले डिस्प्लेको भूमिकाबारे पुनर्विचार गरिरहेका छन्, किनभने यसले ऊर्जा खपत र डिभाइसको तौलमा प्रभाव पार्छ।
“एआर ग्लास डिस्प्लेको माग बढिरहनेछ, यद्यपि यी डिजाइन सीमितताले वृद्धिको गति केही कम गर्न सक्छन्। भीआरमा उत्पादकहरूले अझ साना र आरामदायी डिभाइस निर्माण गर्ने प्रयास गरिरहँदा हलुका सिलिकनमा आधारित ओएलईडी डिस्प्ले प्रविधिले दीर्घकालीन लाभ हासिल गर्ने अपेक्षा गरिएको छ।”
जुन महिनामा स्न्यापच्याटको मातृ कम्पनी स्न्याप इंकले स्पेक्स नामक नयाँ एआर ग्लास सार्वजनिक गरेको थियो। उच्चस्तरीय स्पेसिफिकेसन र तेस्रो पक्षका सफ्टवेयर डेभलपरका लागि नयाँ उपकरणसहित बजारमा रे-ब्यान मेटालाई चुनौती दिने उद्देश्यले यो ग्लास ल्याइएको थियो। यसमा दुईवटा क्वालकम स्न्यापड्रागन प्रोसेसर छन्। एउटा कम्प्युटर भिजनका लागि र अर्को स्न्यापले ‘लेन्सेस’ भन्ने अनबोर्ड एप्लिकेसन सञ्चालन गर्न प्रयोग हुन्छ।
यसले घुम्तीअनुसारको नेभिगेसन र स्थानमा आधारित सेवाका साथै विभिन्न काममा सहयोग गर्ने एआई ओभरलेलगायतका प्रयोगका उदाहरण प्रस्तुत गरेको थियो। स्पेक्स मा रहेका क्यामेराले पहिचान गर्ने हातका संकेतमार्फत यी सुविधालाई नियन्त्रण गर्न सकिन्छ।
तर यसको मूल्य २,१९५ अमेरिकी डलर छ। यस उत्पादनलाई उदाहरणका रूपमा हेर्दा आगामी चार वर्षमा यसका सुविधा जति आकर्षक भए पनि अधिकांश उपभोक्ताका लागि यो मूल्य निकै महँगो हुन सक्ने देखिन्छ।
यसैबीच, गत साता । को अर्को सम्बन्धित रिपोर्टले यस वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी वेयरेबल ब्यान्डको ढुवानी वार्षिक आधारमा २ प्रतिशतले घटेको जनाएको थियो।
उन्नत खेलकुद मोडलका कारण स्मार्टवाचको ढुवानी ६ प्रतिशतले बढेको थियो भने नयाँ स्क्रिनरहित आधारभूत ब्यान्डले पनि केही गति हासिल गरेका थिए। तर समग्र आधारभूत ब्यान्ड श्रेणीमा आएको ९ प्रतिशतको गिरावटले यसको वृद्धिलाई प्रभावित गरेको थियो। यसका कारण उत्पादकहरूले उत्पादन सार्वजनिक गर्ने समयतालिका र उत्पादनको जीवनचक्रमा गरेको समायोजनलाई जनाएको ओम्डियालाई उद्धृत गर्दै टेलिकम्स डटकमले उल्लेख गरेको छ।
प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार