प्रविधि

ट्रम्प र एपेकलाई मध्यनजर गर्दै सेन्जेनमा हर्न बजाउन र ड्रोन उडाउन प्रतिबन्ध, सहरमा शान्ति कायम

ट्रम्प र एपेकलाई मध्यनजर गर्दै सेन्जेनमा हर्न बजाउन र ड्रोन उडाउन प्रतिबन्ध, सहरमा शान्ति कायम
सांकेतिक फाइल तस्बिर
Global IME Bank

चीनको प्रविधि क्षेत्रको प्रमुख केन्द्र सेन्जेनमा यस साता विश्व नेताहरूको जमघटको तयारीसँगै असामान्य शान्ति छाएको छ। सहरमा सवारीसाधनको हर्न बजाउन प्रतिबन्ध लगाइएको छ, सामान ओसारपसार गर्ने ड्रोनहरू उडाउन रोकिएको छ र स्थानीय बासिन्दालाई निजी सवारीसाधन घरमै छाड्न आग्रह गरिएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको बैठक सेन्जेनका लागि आफ्नो रूपान्तरण देखाउने अवसर बनेको छ। कुनै समय कृषि क्षेत्रमा सीमित रहेको यो सहर अहिले उच्च प्रविधिको केन्द्र र व्यवस्थित सहरका रूपमा विकसित भएको छ। अधिकारीहरू यही छवि विश्वसामु प्रस्तुत गर्न चाहन्छन्।

सेन्जेनका १५ लाखभन्दा बढी स्थानीय कारधनीले एपेकको स्टिकर पाउने सर्तमा सडकमा गाडी ननिकाल्ने प्रतिबद्धता जनाएका छन्। प्रतिबद्धता पालना गरे उनीहरूले १०० युआन (१५ अमेरिकी डलर) सम्मको सार्वजनिक यातायात कार्ड पाउनेछन्।

मंगलबारदेखि बाहिरका सहरमा दर्ता भएका गाडीलाई दिउँसो सहरका अधिकांश क्षेत्रमा प्रवेश गर्न रोक लगाइने सेन्जेन ट्राफिक प्रहरीले जनाएको छ।

रोयटर्सका अनुसार सहरमा व्यापक रूपमा देखिने विद्युतीय साइकल चालकलाई पनि साइकलबाट ओर्लन आग्रह गरिएको छ। त्यसको बदलामा उनीहरूले बिमा शुल्कमा छुट पाउनेछन्। मुख्य सडकमा पार्किङ गरिएका साइकलहरू पनि हटाइँदै छन्।

शिखर सम्मेलनका लागि सहरका धेरै मध्यवर्ती क्षेत्रलाई सजाइएको छ।

सम्मेलनस्थल सियाङमिहु अर्थात् हनी लेकको छेउमा छ। सन् १९८५ मा खुलेको यो स्थान कुनै समय एसियाकै ठूला मनोरञ्जन पार्कमध्ये एक थियो। लामो समयदेखि प्रयोगमा नरहेको पार्कको रोलर कोस्टर सन् २०२४ मा भत्काएर त्यहाँ वित्तीय क्षेत्र निर्माण गरिएको थियो।

अहिले ताल किनारका क्षेत्रमा नयाँ फूलका बगैँचा र कालोपत्रे गरिएका सडक देखिन्छन्।

तर, करिब २० जना विश्व नेताहरू र उनीहरूका सहयोगीको टोली सहरमा आउँदा हुने तामझाम र असुविधाका लागि सेन्जेनका सबै बासिन्दा तयार देखिँदैनन्।

सम्मेलनस्थलनजिकै बस्ने ४० वर्ष आसपासकी ब्याउले भनिन्, “सहर राम्रो देखिएको छ, तर यसमा खर्च भइरहेको पैसा त करदाताकै हो।” आफ्नो रोजगारदाताले कर्मचारीलाई सञ्चारमाध्यमसँग कुरा नगर्न भनेकाले उनले पूरा नाम बताउन अस्वीकार गरिन्।

उनका अनुसार यस साता निश्चित समयमा आसपासका सडक बन्द हुने भएकाले उनी काममा गाडी लिएर जान पाउने छैनन्।

ब्याउले भनिन्, “तर मेरो ठूलो समस्या बालबालिकाको हेरचाह हो।” सेन्जेनका प्राथमिक र माध्यमिक विद्यालयमा मंगलबारदेखि चार दिनको शरदकालीन बिदा सुरु हुँदै छ। शिक्षकबाहेक अन्य वयस्कका लागि भने बिदा छैन।

सेन्जेन प्रशासनले रोजगारदातालाई घरबाट काम गर्ने व्यवस्था मिलाउन, कामको समय फरक–फरक बनाउन वा सवेतन बिदा दिन प्रोत्साहित गरेको छ।

केही बासिन्दाले भने यो अवसरको उपयोग गरिरहेका छन्। माध्यमिक विद्यालयका शिक्षक जोन दक्षिणपश्चिमी सहर चोङछिङ जाँदै छन्। उनले भने, “म केही समय आराम गर्न, सस्तो खाना खान र अवस्था सामान्य भएपछि फर्कन चाहन्छु।”

सडकमा देखिएको शान्तिको एउटा प्रमुख कारण यसै महिनादेखि लागू गरिएको सहरव्यापी हर्न प्रतिबन्ध हो। ध्वनि मापन गर्ने क्यामेराबाट निगरानी गरिने यस नियम उल्लङ्घन गरे कम्तीमा ३०० युआन जरिवाना लाग्छ। सेन्जेनमा लामो समयदेखि हर्न बजाउन नियन्त्रण गरिएको भए पनि नयाँ नियमको व्यापक प्रचार गरिएको छ।

आफ्नो कारको हर्न बजाउन नपाउने नियमबारे सञ्चारमाध्यममा काम गर्ने २९ वर्षीया लिउले गुनासो गर्दै भनिन्, “अहिले मानिसहरूले निकै जोखिमपूर्ण तरिकाले अरूको बाटो काटिरहेका छन्। तपाईंले चुपचाप बसेर हेर्नुबाहेक केही गर्न सक्नुहुन्न।”

सहरका चर्चित निर्यातमध्ये पर्ने ड्रोन उडानमा पनि रोक लगाइएको छ। खाद्य सामग्री ड्रोनबाट पुर्‍याउँदै आएको मितुआनले १० दिनका लागि आफ्नो ड्रोन सेवा स्थगित गरेको छ।

तयारीका क्रममा मानिसहरूको पहिरनलाई समेत ध्यान दिइएको छ। लिन नाम गरेकी एक कार्यालय कर्मचारीका अनुसार उनको रोजगारदाताले कर्मचारीलाई आफूले नबुझेका अंग्रेजी वाक्यांश लेखिएका कपडा नलगाउन भनेको छ। त्यस्ता कपडामा अनजानमै अश्लील शब्द लेखिएको हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो।

यद्यपि, सहरभरि हजारौँ मानिसले ‘स्वयंसेवक’ लेखिएका रातो ज्याकेट लगाएका छन्। आवासीय क्षेत्रका सुरक्षा गार्डले समेत यस्ता ज्याकेट लगाएका छन्।

सेन्जेनको नानसान जिल्लामा कार्यरत सुरक्षा गार्ड गुओले भने, “हाकिमले हामीलाई यो ज्याकेट लगाउनुपर्छ भन्नुभएको छ।” ज्याकेटमा लेखिएका अक्षरको अर्थ आफूलाई थाहा नभएको बताउँदै उनले भने, “म अंग्रेजी बोल्दिनँ।”

Sajilo Visa
easy care