Highlight News

मोबाइल हटस्पट प्रयोग गर्दा के कस्ता फाइदा र बेफाइदा हुन्छन्, जान्नुहोस्

मोबाइल हटस्पट प्रयोग गर्दा के कस्ता फाइदा र बेफाइदा हुन्छन्, जान्नुहोस्
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर
Global IME Bank

ल्यापटप वा अन्य डिभाइसमा इन्टरनेट चलाउन सधैँ छुट्टै वाइफाइ वा हटस्पट डिभाइस आवश्यक पर्दैन। स्मार्टफोनमै रहेको मोबाइल हटस्पट सुविधाबाट मोबाइल डाटालाई अन्य डिभाइसमा बाँड्न सकिन्छ। तर यसको प्रयोग गर्दा ब्याट्री खपत, इन्टरनेट प्याकेजको सीमा र सुरक्षाजस्ता विषयमा ध्यान दिनुपर्छ।

घर वा कार्यालयबाहिर काम गर्दा इन्टरनेट कनेक्सन नपाउनु सामान्य समस्या हो। विशेषगरी रिमोट वर्क गर्ने, यात्रा गर्ने वा कफी सपमा बसेर ल्यापटप चलाउनेहरूका लागि मोबाइल हटस्पट उपयोगी हुन सक्छ।

एन्ड्रोइड फोनमा सामान्यतया हटस्पट एण्ड टेथरिङ र आईफोनमा पर्सनल हटस्पट नामबाट यो सुविधा उपलब्ध हुन्छ। यसबाट फोनको मोबाइल डेटा ल्यापटप, ट्याब्लेट वा अन्य स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ।

छुट्टै हटस्पट डिभाइस खरिद नगरी फोनबाटै इन्टरनेट बाँड्न सकिने भएकाले यो सजिलो विकल्प हो। तर यसको प्रयोगका केही फाइदा र सीमितता छन्।

मोबाइल हटस्पट प्रयोगका फाइदा

जहाँ पनि इन्टरनेट चलाउन सकिने

मोबाइल नेटवर्क उपलब्ध भएको स्थानमा फोनबाट हटस्पट खोलेर अन्य डिभाइसमा इन्टरनेट चलाउन सकिन्छ। ल्यापटप लिएर बाहिर काम गर्दा वाइफाइ खोजिरहनुपर्ने आवश्यकता पर्दैन। यात्रा गर्दा ट्याब्लेट वा बालबालिकाको डिभाइसमा पनि इन्टरनेट उपलब्ध गराउन सकिन्छ।

अतिरिक्त डिभाइस किन्नु पर्दैन

मोबाइल हटस्पट प्रयोग गर्दा छुट्टै हटस्पट डिभाइस खरिद गर्नुपर्दैन। त्यसलाई चार्ज गर्ने, अपडेट गर्ने वा छुट्टै बोकेर हिँड्ने झन्झट पनि हुँदैन।

इन्टरनेट प्याकेजमा हटस्पट प्रयोगको सुविधा समावेश छ भने अतिरिक्त डेटा प्याकेजसमेत किन्नु नपर्न सक्छ।

सार्वजनिक वाइफाइभन्दा सुरक्षित हुन सक्ने

सार्वजनिक स्थानमा उपलब्ध खुला वाइफाइ नेटवर्कमा जोडिनुभन्दा आफ्नै फोनको हटस्पट प्रयोग गर्नु सुरक्षित विकल्प हुन सक्छ।

किनभने हटस्पटमा कसलाई जोड्ने भन्ने नियन्त्रण प्रयोगकर्ताकै हातमा हुन्छ। बलियो पासवर्ड राखेर वाप२ वा वाप३ इन्क्रिप्सन प्रयोग गर्दा अनधिकृत पहुँचको जोखिम घटाउन सकिन्छ।

मोबाइल हटस्पटका बेफाइदा

ब्याट्री छिटो सकिन्छ

मोबाइल हटस्पट सञ्चालन गर्दा फोनले मोबाइल नेटवर्कबाट इन्टरनेट लिएर वाइफाइमार्फत अन्य डिभाइसमा बाँड्नुपर्ने हुन्छ। यसका लागि बढी ऊर्जा खर्च हुने भएकाले ब्याट्री सामान्यभन्दा छिटो सकिन सक्छ।

लामो समय हटस्पट चलाउनुपर्ने भए पावर बैंक वा चार्जर प्रयोग गर्नु उपयोगी हुन्छ।

मोबाइल डाटा छिटो सकिन सक्छ

हटस्पटमा जोडिएको ल्यापटप वा अन्य डिभाइसले मोबाइल डाटा प्रयोग गर्छन्। विशेषगरी भिडियो स्ट्रिमिङ, भिडियो कल तथा ठूला फाइल डाउनलोड गर्दा डाटा छिटो सकिन सक्छ।

केही इन्टरनेट प्याकेजमा हटस्पट प्रयोगका लागि छुट्टै डाटा सीमा हुन सक्छ। यस्तो सीमा नाघेपछि इन्टरनेटको गति घट्न वा अतिरिक्त शुल्क लाग्न सक्छ।

धेरै डिभाइस जोड्दा गति घट्न सक्छ

एउटै मोबाइल हटस्पटमा धेरै डिभाइस जोडिँदा सबैले मोबाइल नेटवर्कको इन्टरनेट साझा गर्छन्। त्यसैले प्रयोगकर्ताको संख्या बढ्दै जाँदा प्रत्येक डिभाइसमा उपलब्ध हुने इन्टरनेट गति घट्न सक्छ।

पासवर्ड नराख्दा सुरक्षा जोखिम

हटस्पटमा पासवर्ड नराखे आसपासका अन्य व्यक्तिले पनि नेटवर्कमा जोडिन सक्छन्। यसले मोबाइल डेटा अनधिकृत रूपमा प्रयोग हुने र नेटवर्कको गति घट्ने जोखिम बढाउँछ। त्यसैले बलियो पासवर्ड राख्नु आवश्यक हुन्छ।

एन्ड्रोइड र आईफोनमा हटस्पट कसरी खोल्ने?

एन्ड्रोइड फोनमा:

  • फोनको क्विक सेटिङ्स प्यानल खोल्न माथिबाट तल स्वाइप गर्नुहोस्।
  • मोबाइल हटस्पट आइकनमा ट्याप गर्नुहोस्।
  • थप सेटिङका लागि उक्त आइकनलाई केही समय थिचिराख्नुहोस्।
  • त्यहाँबाट हटस्पटको नाम र बलियो पासवर्ड राख्न सकिन्छ।
  • फोनले उपलब्ध गराएअनुसार २.४ गिजाहर्ज वा ५ गिजाहर्ज फ्रिक्वेन्सी ब्यान्ड छनोट गर्न सकिन्छ। केही नयाँ फोनमा ६ गिजाहर्ज को विकल्प पनि उपलब्ध हुन्छ।

आईफोनमा:

  • सेटिङ्स खोल्नुहोस्।
  • पर्सनल हटस्पटमा जानुहोस्। केही अवस्थामा सेलुलरभित्र यो विकल्प हुन्छ।
  • अलाउ अदर्स टू जोइन सक्रिय गर्नुहोस्।
  • वाई-फाई पासवर्डमा गएर बलियो पासवर्ड राख्नुहोस्।
  • त्यसपछि अन्य डिभाइसको वाइफाइ सेटिङमा गएर मोबाइलको हटस्पट नेटवर्क छनोट गरी पासवर्ड राखेपछि इन्टरनेट चलाउन सकिन्छ।

नियमित प्रयोगका लागि छुट्टै हटस्पट डिभाइस उपयुक्त हुन्छ?

इन्ग्याजेटका अनुसार कहिलेकाहीँ ल्यापटप वा अन्य डिभाइसमा इन्टरनेट चलाउनुपर्ने अवस्थामा मोबाइल हटस्पट सजिलो र खर्च कम लाग्ने विकल्प हो। यसका लागि छुट्टै डिभाइस खरिद गर्नुपर्दैन।

तर दैनिक धेरै घण्टा हटस्पट चलाउने, भिडियो स्ट्रिमिङ गर्ने वा एकैपटक धेरै डिभाइस जोड्ने प्रयोगकर्ताका लागि छुट्टै हटस्पट डिभाइस उपयुक्त हुन सक्छ।

त्यसैले मोबाइल हटस्पट प्रयोग गर्नुअघि आफ्नो डाटा प्याकेजमा यसको सुविधा र सीमा कस्तो छ भन्ने बुझ्नु आवश्यक हुन्छ। प्रयोगको अवधि र आवश्यकताअनुसार मोबाइल हटस्पट वा छुट्टै हटस्पट डिभाइस छनोट गर्न सकिन्छ।

Sajilo Visa
easy care