विदेशी विद्युतीय सवारीले संकलन गर्ने डाटा नेपालमै राख्नुपर्छ: मन्त्री पुन

  • Technology Khabar | ५ भाद्र २०८३, शुक्रबार
विदेशी विद्युतीय सवारीले संकलन गर्ने डाटा नेपालमै राख्नुपर्छ: मन्त्री पुन
फाइल तस्बिर

काठमाडौं ।

नेपालमा विदेशी विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढिरहेका बेला ती सवारीसाधनले संकलन गर्ने डाटा नेपालमै सुरक्षित र प्रयोग गर्न सकिने व्यवस्था गर्नुपर्ने बहस सुरु भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जाल एक्समार्फत विदेशी विद्युतीय सवारीसाधनले नेपालमा संकलन गर्ने डाटा सम्बन्धित उत्पादक कम्पनीमा पुगिरहेको भन्दै त्यसलाई नेपालमै संकलन तथा भण्डारण गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

उनका अनुसार विद्युतीय सवारीसाधन कहाँ चलाइएको छ, कति किलोमिटर गुडेको छ, विद्युतीय मोटर र ब्याट्रीको अवस्था कस्तो छ भन्नेजस्ता महत्वपूर्ण विवरण सवारीसाधनमा प्रयोग भएको मोबाइल सिममार्फत उत्पादक कम्पनीसम्म पुग्ने गरेका छन्।

तर सवारीसाधन प्रयोगकर्तालाई यस्तो डाटा संकलन तथा प्रसारण भइरहेको विषयमा जानकारी नहुने अवस्था रहेको उनले बताएका छन्।

मन्त्री पुनले यस्ता डाटा नेपालका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गरेका छन्। विदेशी सवारी उत्पादक कम्पनीले नेपालमा सञ्चालन भइरहेका विद्युतीय सवारीबाट प्राप्त गर्ने डाटालाई नेपालले समेत उपयोग गर्न सक्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

यही विषयमा डाटा नेपालभित्रै संकलन तथा भण्डारण गर्ने र नेपालले समेत त्यसको उपयोग गर्न सक्ने व्यवस्था कसरी गर्ने भन्नेबारे विज्ञ तथा सरोकारवालाबीच छलफल भएको पुनले बताएका छन्।

उनले छलफलबाट यस विषयमा केही निष्कर्ष निस्कने अपेक्षा पनि व्यक्त गरेका छन्।

नेपालमा विद्युतीय सवारीको संख्या बढ्दै जाँदा सवारीसाधनबाट उत्पन्न हुने डाटा, त्यसको स्वामित्व, गोपनीयता, राष्ट्रिय हित तथा डाटा सार्वभौमिकताको विषयसमेत नीतिगत बहसको विषय बन्ने देखिएको छ।

प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×