विद्युतीय ऊर्जाको प्रयोग बढाउन पोखरा महानगरले सुरु गर्यो प्रोत्साहन अभियान

  • Technology Khabar | २ भाद्र २०८३, मंगलवार
विद्युतीय ऊर्जाको प्रयोग बढाउन पोखरा महानगरले सुरु गर्यो प्रोत्साहन अभियान

काठमाडौं ।

पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ प्रोत्साहन अभियान सुरु गरेको छ। बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि महानगरले विद्युतीय चुल्होलाई विकल्पका रूपमा अघि सारेको हो ।

पोखरा–२२ पुम्दीभुम्दीका २०० परिवारलाई आज विद्युतीय चुल्हो वितरण गर्दै महानगरले विद्युतीय ऊर्जाको प्रयोग बढाउने अभियान सुरुआत गरेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो। स्थानीयलाई रु चार हजार २०० मूल्य पर्ने चुल्हो प्रदान गरिएको हो।

वडा नं २२ का कालाबाङ, भुम्दीलगायत पाँच ओटा टोलका परिवारलाई पहिलो चरणमा चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष हिमलाल बरालले बताए। वडाभित्र करिब दुई हजारभन्दा बढी चुल्हो वितरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

कार्यक्रमको शुभारम्भ गर्दै महानगर प्रमुख धनराज आचार्यले ग्यासको अभावका कारण खाना पकाउन समस्या हुन थालेको अवस्थामा विद्युतीय चुल्हो विकल्पका रूपमा उपयोगी हुने बताए।

खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै लैजानसके ग्यासमा हुने परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन सकिने प्रमुख आचार्यले स्पष्ट पारे।

उनले भने, “खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउनसके एलपिजी ग्यासमाथिको परनिर्भरता घटाउन सकिन्छ। यसबाट स्वदेशमै उत्पादन भएको विद्युत्को खपत वृद्धि हुन्छ भने उपभोक्तालाई सस्तो पर्छ।”

महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहज, भरपर्दो र वातावरणमैत्री ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरण थालिएको उनले बताए।

ग्यासको चरम अभाव हुँदा कतिपय परिवारको ‘चुल्हो निभ्ने’ अवस्था आएपछि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन पहल गरिएको उनले बताए।

ग्यासको अभावका बेला सुरु भएको विद्युतीय चुल्हो वितरण अभियानले तत्कालीन समस्या समाधानमा सहयोग पुगेको स्थानीय दुर्गा बरालले बताए। “सिलिन्डर ग्यासका लागि कति दिन लाइनमा बस्दा पाउन सकिएको थिएन। अहिले गाउँमै आएर चुल्हो वितरण गरेर महानगरले हामीलाई धेरै सहयोग गरेको छ”, बरालले भने।

पोखराको खाना पकाउने ऊर्जा खपतमा विद्युत्को हिस्सा भने हाल निकै न्यून रहेको महानगरले जनाएको छ । महानगरको नगर ऊर्जा योजनाअनुसार खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपिजीको हिस्सा ८४ दशमलव २५ प्रतिशत छ । काठ दाउराको १० दशमलव २०, बायोग्यासको पाँच दशमवल २५ र विद्युत्को हिस्सा शून्य दशमलव २३ प्रतिशत मात्रै रहेको छ।

पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

जर्मन अन्तरराष्ट्रिय सहयोग नियोग (जीआइजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार गरेको नगर ऊर्जा योजनाले विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने दीर्घकालीन लक्ष्य अघि सारेको छ। रासस

प्रकाशित: २ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार