काठमाडौं ।
तोकिएको भन्दा धेरै मूल्य लिएर ग्राहक ठगेको भन्दै काठमाडौं महाराजगंजस्थित ओलीज स्टोरलाई सरकारी निकायले कारबाही गरेको छ। ओलीज स्टोरसहितका उपभोक्ता ठगी गर्ने तथा कानुन विपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।
विभागले मंगलबार गरेको अनुगमनका क्रममा बदमासी गरेको भेटिएका काठमाडौँका दुई व्यावसायिक फर्महरुलाई कुल ५ लाख रुपैयाँ जरिवाना तिराएको जानकारी दिएको छ।
यसमध्ये विभागले ग्राहकहरुसँग अधिक मूल्य लिएर ठगी गर्ने ओलीज स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागकाअनुसार, तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको (ओभरप्राइसिङ) कसुरमा काठमाडौँको महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो।
उपभोक्ता ऐन २०७७ को दफा १६ को उपदफा २ को खण्ड (क) अनुसारको कार्य गरेको भन्द विभागले जरिवाना गरेको जानकारी दिएको छ।
उक्त दफाको सो खण्डमा भनिएको छ, “वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य तौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने।” यस्तो कार्यलाई ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप मानेको छ।
सरकारी अनुगमनकै क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरिरहेको भेटिनुले ओलीज स्टोरले देशभरका आफ्न अन्य स्टोरहरुबाट समेत त्यसैगरी तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरिरहेको त छैन भन्ने अर्को आशंकासमेत उब्जिएको छ।
यसैगरी, काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरमा सञ्चालित न्यु फेमिली गर्ल्स होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
विभागले अनुगमनका क्रममा कैफियत देखिएका अन्य तीनओटा व्यवसायलाई भने आवश्यक सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागको बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको जनाएको छ।
प्रकाशित: २ भाद्र २०८३, मंगलवार