मेटामाथि सामाजिक सञ्जालको लतसम्बन्धी पछिल्लो मुद्दामा १.४ ट्रिलियन डलर जरिवानाको जोखिम

  • Technology Khabar | २ भाद्र २०८३, मंगलवार
मेटामाथि सामाजिक सञ्जालको लतसम्बन्धी पछिल्लो मुद्दामा १.४ ट्रिलियन डलर जरिवानाको जोखिम

काठमाडौं ।

मेटा यस साता सामाजिक सञ्जालको लत र उसका एपहरूले निम्त्याएको भनिएको अन्य क्षतिसम्बन्धी अर्को मुद्दामा अदालतमा उपस्थित हुँदैछ।

प्रयोगकर्ताको सुरक्षासम्बन्धी व्यवस्थापन र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा आफ्ना एपको प्रभावलाई लिएर हजारौं मुद्दा खेपिरहेको मेटाका लागि यो मुद्दा अर्को महत्वपूर्ण परीक्षण बनेको छ।

अमेरिका स्थित क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतमा मंगलबारबाट मुद्दाको सुनुवाइ सुरु हुँदैछ। गत साता मुद्दा खारेज गराउन मेटाले गरेको अन्तिम प्रयास असफल भएपछि सुनुवाइ अघि बढ्न लागेको हो।

यस क्रममा मेटाका प्रमुख अधिकारीहरू, जसमा मार्क जुकरबर्गसमेत छन्, ले बयान दिन सक्नेछन्। साथै कम्पनीमाथि अहिलेसम्मकै ठूलो जरिवाना लाग्न सक्ने सम्भावना पनि छ।

अमेरिकी राज्यहरूको गठबन्धनले सन् २०२३ मा मेटामाथि मुद्दा दायर गरेका थिए, र अहिले मुद्दा चलिरहेका चार राज्यहरूलाई उनीहरूको प्रतिनिधित्व गर्न छनोट गरिएको थियो। ती राज्यहरूले मेटाले जानाजानी प्रयोगकर्तालाई लत लाग्ने खालका फिचर बनाएको र उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाएका थिए।

राज्यका वकिलहरूले राज्य र संघीय कानूनको उल्लङ्घन गर्दै मेटाले जानाजानी फेसबुक र इन्स्टाग्रामलाई बालबालिकाको लागि लत बनाएको तर्क गर्नेछन्।

कम्पनीको सुरक्षा अभ्यासबारे गरिएको बहुराज्यीय अनुसन्धानपछि बालबालिका र किशोरकिशोरीमा गम्भीर असर परेको देखिएको अधिकारीहरूले बताएका थिए।

सुनुवाइका क्रममा संघीय न्यायाधीश यभोन गोन्जालेज रोजर्सले क्यालिफोर्निया, कोलोराडो, केन्टकी र न्यु जर्सीका दाबी सुन्नेछिन्। ती राज्यहरूले मेटाले आफ्ना एपको सुरक्षाबारे जनतालाई जानाजानी भ्रममा पारेको र राज्यका उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको आरोप लगाएका छन्।

ती चारसहित थप २५ राज्यले बालबालिकाको अनलाइन गोपनीयता संरक्षणसम्बन्धी कानुन (सीओपीपीए) उल्लंघन गरेको आरोपमा पनि मेटाविरुद्ध मुद्दा दायर गरेका छन्। ती राज्यका अनुसार मेटालाई फेसबुक र इन्स्टाग्राममा १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता रहेको थाहा हुँदाहुँदै उनीहरूको अनुमति बिना डाटा संकलन गरेको आरोप छ।

मेटाले यस वर्ष यस्तै आरोपसम्बन्धी अन्य मुद्दाको सामना गरिसकेको भए पनि यो मुद्दाको प्रभाव विशेष महत्वपूर्ण हुन सक्छ। क्यालिफोर्निया, कोलोराडो, केन्टकी र न्यु जर्सीले आफूहरूले कति जरिवाना माग गर्ने भन्ने सार्वजनिक गरेका छैनन्।

तर मुद्दाको सुनुवाइअघि अदालतमा बुझाएको कागजातमा मेटाले राज्यहरूले १.४ ट्रिलियन डलरसम्म जरिवाना माग गरिरहेको बताएको थियो। कम्पनीले उक्त रकमलाई ‘अत्यन्तै अव्यावहारिक’ भनेको छ।

ल३६० ले उद्धृत गरेको न्यायाधीश रोजर्सको भनाइअनुसार उनले पनि उक्त रकमलाई ‘अव्यावहारिक’ बताएकी छन्। तर उनले मेटाले प्रस्ताव गरेको ४ मिलियन डलरको अनुमानप्रति पनि असहमति जनाएकी छन्।

मेटाका लागि यो मुद्दा विशेष महत्वपूर्ण छ किनकि कम्पनीले प्रयोगकर्तालाई हानि पुर्‍याएको आरोपमा अहिले हजारौं अन्य मुद्दाको सामना गरिरहेको छ। लस एन्जलस र न्यु मेक्सिकोका जुरीले यस्तै विषयमा भएका चर्चित मुद्दामा मेटाविरुद्ध फैसला गरिसकेका छन्।

मेटाले दुवै फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको छ। यो मुद्दामा अर्को हार भएमा कम्पनीलाई आर्थिक क्षति मात्र नभई अन्य मुद्दालाई पनि अघि बढाउन सहज नहुन सक्छ। मेटा आर्थिक रूपमा समस्यामा नरहे पनि कानुनी खर्च बढिरहेको छ। कम्पनीका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा मात्रै उसले कानुनी खर्चमा २.४ अर्ब डलर खर्च गरेको थियो।

मेटाले भने दाबी प्रमाणित नभएको र प्रस्तावित जरिवानाको गणना गलत भएको बताएको छ। मेटाका प्रवक्ताले इन्ग्याजेटलाई दिएको विज्ञप्तिमा भनेका छन्, “राज्यका महान्यायाधिवक्ताहरूले यसलाई ऐतिहासिक मुद्दा भन्न सक्छन्, तर उनीहरूका सीमित दाबी प्रमाणविहीन छन् र उनीहरूले माग गरेको रकम अत्यधिक असंगत छ।”

यस्तै, यो मुद्दा मेटाको लागि “बृहत्तर गणनाको सुरुवात” हुन सक्ने नोरा फ्रीम्यान एङ्गस्ट्रोमले इमेल मार्फत एएफपीलाई बताइन्। उनी स्ट्यानफोर्डमा कानून प्राध्यापक र सहयोगी डीन हुन्।

मेटालाई निजी रूपमा थाहा भएको र यसले सार्वजनिक रूपमा खुलासा गरेको बीचको “अन्तर” हेर्नु महत्त्वपूर्ण हुनेछ, एङ्गस्ट्रोमले भनिन्।

प्रवक्ताका अनुसार राज्यहरूले आफ्ना राज्यमा कसैलाई भ्रममा पारिएको प्रमाण प्रस्तुत गर्न सकेका छैनन्। अतिरिक्त इन्स्टाग्राम खाता खोल्न सकिने जस्ता सामान्य फिचरले आफ्ना बासिन्दालाई कसरी हानि पुर्‍यायो भन्ने दावी पनि प्रमाणित नभएको मेटाको भनाइ छ।

उमेर प्रमाणीकरणजस्ता उद्योगभरिका चुनौतीका लागि पनि मेटालाई जरिवाना लगाउन खोजिएको कम्पनीले जनाएको छ। कम्पनीले तथ्य र कानुनमा केन्द्रित हुनुभन्दा राज्यहरूले अस्वाभाविक ठूलो रकम प्राप्त गर्न खोजेको आरोप लगाएको छ। साथै किशोरकिशोरीका लागि बलियो सुरक्षा व्यवस्था बनाएको आफ्नो कामप्रति कम्पनी विश्वस्त रहेको बताएको छ।

मुद्दाका लागि जुरी छनोट भइसकेको छ र मंगलबार, अगस्ट १८ बाट प्रारम्भिक बहस सुरु हुनेछ। सुनुवाइ करिब ६ हप्तासम्म चल्ने अपेक्षा गरिएको छ। सामान्य जुरी ट्रायलभन्दा फरक रूपमा आठ सदस्यीय जुरीले ‘सल्लाहकार’को भूमिका निर्वाह गर्नेछ। अन्तिम फैसला र जरिवानासम्बन्धी पूर्ण अधिकार भने न्यायाधीशसँग हुनेछ।

सुनुवाइका क्रममा मेटाका प्रमुख अधिकारीहरूले पनि बयान दिन सक्नेछन्। यसमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग र इन्स्टाग्राम प्रमुख एडम मोसेरी पनि छन्।

रोयटर्सका अनुसार दुवै जनाले बयान दिने सम्भावना छ। उनीहरू दुवै यस वर्ष भएका अन्य मुद्दाको सुनुवाइमा पनि उपस्थित भइसकेका छन्। फेब्रुअरीमा लस एन्जलसमा भएको मुद्दाको सुनुवाइमा जुकरबर्गले इन्स्टाग्राम लत लगाउने नभई ‘उपयोगी’ बनाउन डिजाइन गरिएको बताएका थिए।

प्रकाशित: २ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार