इन्स्टाग्रामले परिवर्तन गर्यो एपको माथिल्लो भागमा देखिने लोगो

  • Technology Khabar | ३० श्रावण २०८३, शनिबार
इन्स्टाग्रामले परिवर्तन गर्यो एपको माथिल्लो भागमा देखिने लोगो

काठमाडौं ।

इन्स्टाग्रामले एपको माथिल्लो भागमा देखिने ‘इन्स्टाग्राम’ लेखिएको लोगोमा परिवर्तन गर्ने भएको छ। उक्त लोगोमा करिब १० वर्षदेखि कुनै महत्वपूर्ण परिवर्तन गरिएको थिएन।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसबारे जानकारी दिएका हुन्। उनले एक दशकपछि प्लेटफर्मको दृश्य पहिचानमा परिवर्तन गर्ने समय आएको बताएका छन्।

मोसेरीका अनुसार नयाँ संस्करण “अझ सफा र आधुनिक” हुनेछ। यसमा भने ब्रान्डको सुरुवाती डिजाइनका तत्व र सन्दर्भलाई कायम राखिनेछ। उनका अनुसार परिवर्तन देखिने खालको भए पनि इन्स्टाग्रामलाई विशिष्ट बनाउने विशेषता भने गुम्ने छैन।

“एपको माथिल्लो भागमा रहेको वर्ड-लोगो १० वर्षदेखि परिवर्तन भएको छैन, त्यसैले यसलाई नयाँ रूप दिने समय आएको थियो,” मोसेरीले लेखेका छन्।

उनले नयाँ डिजाइनमा पनि सरलता र सूक्ष्म विवरणमा ध्यान दिने पक्षलाई निरन्तरता दिइएको बताएका छन्। यी तत्व इन्स्टाग्रामको सुरुवातदेखि नै यसको पहिचानको हिस्सा रहँदै आएका छन्।

प्रमुख प्रविधि प्लेटफर्महरूले प्रयोगकर्ताले एप प्रयोग गर्ने तरिकामा आएको परिवर्तनअनुसार आफ्नो दृश्य पहिचानलाई निरन्तर अद्यावधिक गरिरहेका बेला इन्स्टाग्रामले पनि लोगोमा यो परिवर्तन गर्न लागेको हो।

प्रकाशित: ३० श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार