काठमाडौं ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेड र ई ड्राइभ नेपाल बीच ५० वटा एमजी विन्डसर कम्युट ईभी उपलब्ध गराउने सम्झौता भएको छ।
जेएसडब्ल्यू एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र विद्युतीय राइड–सेयरिङ सेवा प्रदायक ई ड्राइभ नेपालबीच भएको सम्झौताअन्तर्गत पहिलो चरणमा १६ वटा एमजी विन्डसर ईभी १३ अगस्ट २०२६ हस्तान्तरण गरिएको हो। यो हस्तान्तरणसँगै नेपालमा विद्युतीय सवारीसाधनलाई व्यावसायिक फ्लीटमा समावेश गर्ने दिशामा नयाँ अध्यायको सुरुवात भएको छ।
यस साझेदारीबारे जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘५० वटा एमजी विन्डसर इभीको खरिदले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय गतिशीलताप्रतिको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। ई ड्राइभ नेपाल सँगको हाम्रो साझेदारी दिगो र अत्याधुनिक सवारीसाधनमार्फत नेपाली बजारमा नयाँ पुस्ताको मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। एमजी विन्डसर कम्युटले आराम, प्रविधि र दक्षताको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने भएकाले आधुनिक फ्लीट सञ्चालनका लागि यो एक उपयुक्त विकल्प हो।’
ई ड्राइभ नेपालका प्रतिनिधिले भने, ‘एमजी विन्डसर इभीलाई हाम्रो फ्लीटमा समावेश गर्नु हाम्रा लागि महत्वपूर्ण उपलब्धि हो। यसले हाम्रा प्रयोगकर्तालाई प्रिमियम, किफायती तथा शून्य–उत्सर्जनयुक्त यात्रा सेवा प्रदान गर्न सक्षम बनाउनेछ। साथै, यसले नेपालका शहरी क्षेत्रमा स्वच्छ दिगो यातायात प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।’
एमजी विन्डसर इभी मा व्यावसायिक फ्लीट सञ्चालनलाई ध्यानमा राख्दै आराम, कार्यक्षमता र प्रविधिको उत्कृष्ट संयोजन प्रदान गर्ने विभिन्न विशेषताहरू रहेका छन्।
एमजी विन्डसर ईभीमा ३८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसले १०० किलोवाटसम्मको अधिकतम शक्ति र २०० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।
एकपटक पूर्ण चार्ज गर्दा यसले ३३० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ।
सवारीसाधनमा १३५ डिग्रीसम्म पछाडि रिक्लाइन हुने एरो–लाउन्ज सिट राखिएको छ भने १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार