काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाका लागि “विशेष रूपमा संवेदनशील” मानिएका ड्रोनमा १०० प्रतिशतसम्म कर लगाएका छन्। ह्वाइट हाउसले यसको घोषणा गरेको हो। यस कदमले ड्रोन सञ्चालकलाई अन्य आपूर्तिकर्ता खोज्न वा अमेरिकी बजारमा प्रभुत्व जमाएका चिनियाँ ड्रोनभन्दा कम क्षमताका मोडल प्रयोग गर्न बाध्य बनाउनेछ।
ह्वाइट हाउसले २५ किलोग्राम (५५ पाउन्ड) भन्दा बढी तौल भएका ड्रोन वा डकिङ स्टेसन तथा थर्मल इमेजिङ क्षमता भएका ड्रोनमा १०० प्रतिशत कर लगाउनेछ। यसमा डीजेआईलगायत कम्पनीका विद्युत् प्रसारण लाइन निरीक्षण, बालीमा औषधि छर्कने तथा खोज तथा उद्धार कार्यमा प्रयोग हुने व्यावसायिक ड्रोन र तिनको निर्माणमा प्रयोग हुने पार्टपुर्जा समावेश छन्।
२५ किलोग्रामभन्दा कम तौल भएका ड्रोनमा २५ प्रतिशत कर लाग्नेछ। यो कर डीजेआईलगायत कम्पनीका नयाँ तथा यसअघि नै अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)बाट स्वीकृत भएका ड्रोनमा पनि लागू हुनेछ।
यूरोपेली संघ, जापान, दक्षिण कोरिया, स्विट्जरल्यान्ड र ताइवानबाट आउने ड्रोनका कम्पोनेन्ट मुख्य रूपमा त्यही देशमा बनेका भए १५ प्रतिशत कर लाग्नेछ। बेलायतका ड्रोनमा १० प्रतिशत कर लाग्नेछ।
ह्वाइट हाउसका अनुसार कर लगाउनुको उद्देश्य राष्ट्रिय सुरक्षा बलियो बनाउनु र ड्रोनका पार्टपुर्जाको उत्पादन अमेरिकामै गर्न प्रोत्साहन गर्नु हो। यसका लागि सरकारले ड्रोन तथा ड्रोनका पार्टपुर्जा उत्पादनमा नयाँ लगानी गर्ने अमेरिकी कम्पनीका लागि प्रोत्साहन कार्यक्रम पनि ल्याउनेछ।
एक विज्ञले ‘द फाइनान्सियल पोस्ट’लाई बताएअनुसार यस कदमले चीनबाट पार्टपुर्जा ल्याएर अमेरिकामा ड्रोन जोड्ने कम्पनीलाई दिइएको कानुनी छुटको बाटो पनि बन्द गर्नेछ।
ट्रम्पले यसअघि लगाएका अन्य करजस्तै नयाँ कर पनि ड्रोन आयात गर्ने विक्रेताले तिर्नेछन् र त्यसको भार उपभोक्तामाथि पर्नेछ। नयाँ कर अदालतबाट खारेज भए पनि खरिदकर्ताले तिरेको कर फिर्ता पाउने सम्भावना कम रहेको बताइएको छ।
इन्ग्याजेटका अनुसार ह्वाइट हाउसको नयाँ कर अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले यसअघि स्वीकृत गरिसकेका लिडारयुक्त ड्रोनको बिक्रीमा प्रतिबन्ध लगाउने हालैको निर्णयपछि आएको हो। एफसीसीले यस्ता ड्रोन सैन्य प्रयोजनमा प्रयोग हुन सक्ने भन्दै प्रतिबन्ध लगाएको थियो।
यसमा हाल अमेरिकामा उपलब्ध डीजेआईका केही मोडल पनि पर्छन्। यसले किसान र उद्धारकर्मीले प्रयोग गर्ने ड्रोनलाई समेत असर पार्नेछ। नयाँ करको सम्बन्ध भने अमेरिकाले नयाँ डीजेआई ड्रोन, क्यामेरा, माइक्रोफोन र अन्य उपभोक्ता सामग्रीमा लगाएको हालको प्रतिबन्धसँग नभएको देखिन्छ।
स्मार्टफोन र अन्य उच्च प्रविधिका उत्पादनजस्तै ड्रोन निर्माणमा पनि चीन अमेरिका र अन्य देशभन्दा धेरै अगाडि रहेको छ। उदाहरणका लागि डीजेआईका ड्रोन यति उन्नत छन् कि बजारमा तिनको विकल्प खोज्न निकै कठिन छ।
अमेरिकामा उच्च प्रविधिका ड्रोन उत्पादन सुरु गर्न पनि सहज छैन। यसको कारण चीनमा रहेको स्थानीय आपूर्ति शृंखला, विशेषीकृत कारखाना, विशेष प्राविधिक ज्ञान र ठूलो संख्यामा दक्ष श्रमिकको अभाव अमेरिकामा हुनु हो।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार