एप्पलले अलिबाबाको सहयोगमा चीनका लागि यसरी तयार पार्यो आफ्नै एआई मोडल

  • Technology Khabar | ३० श्रावण २०८३, शनिबार
एप्पलले अलिबाबाको सहयोगमा चीनका लागि यसरी तयार पार्यो आफ्नै एआई मोडल

काठमाडौं ।

एप्पलले चीनको बजारलाई लक्षित गर्दै विशेष रूपमा ठूलो भाषा मोडल (एलएलएम) तयार पारेको छ। यससँगै चीनमा एआई सुविधा सञ्चालनका लागि तेस्रो पक्षका मोडलमा निर्भर रहँदै आएको आईफोन निर्माता कम्पनीको रणनीतिमा परिवर्तन आएको छ।

जानकारहरुका अनुसार उक्त एआई मोडल चिनियाँ प्रविधि कम्पनी अलिबाबा ग्रुपसँगको सहकार्यमा विकास गरिएको हो र अलिबाबाको सहयोगमा तालिम दिइएको हो।

रोयटर्सका अनुसार संवेदनशील र सार्वजनिक नभएको जानकारी भएकाले उनीहरूले आफ्नो नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन्। एप्पलले चीनका लागि आफ्नै मोडल तालिम दिएको खबर यसअघि सार्वजनिक भएको थिएन।

एप्पलले यसअघि चीनमा बिक्री हुने आईफोन र अन्य उपकरणमा जेनेरेटिभ एआई ल्याउन स्थानीय साझेदारका मोडलमा बढी निर्भर हुँदै आएको थियो। चीनमा एन्थ्रोपिकको क्लाउड र ओपनएआईको च्याटजीपीटीजस्ता अमेरिकी मोडल उपलब्ध छैनन्। एप्पलले आफ्नो घरेलु बजारमा भने आफ्नै प्रविधिसँग यस्ता मोडल प्रयोग गर्दै आएको छ।

एप्पल र अलिबाबाले यस विषयमा टिप्पणीका लागि गरिएका अनुरोधको जवाफ नदिएको रोयटर्सले जनाएको छ।

जानकार व्यक्तिका अनुसार एप्पलको एआई टुलहरूको समूह ‘एप्पल इन्टेलिजेन्स’ आईओएसको नयाँ अपडेटपछि आगामी केही महिनामा चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

चीनको बजारलाई लक्षित आफ्नै एआई मोडलले एप्पललाई चीनमा एआई अनुभवमाथि थप नियन्त्रण दिनेछ। चीन एप्पलको सबैभन्दा प्रतिस्पर्धात्मक विदेशी बजारमध्ये एक हो, जहाँ एआई सुविधा भएका स्मार्टफोनमा तीव्र रूपमा अघि बढेका हुवावेजस्ता स्थानीय प्रतिस्पर्धीसँग एप्पल पछाडि परेको छ।

एप्पलको योजनाले चीनमा विदेशी कम्पनीका लागि एआई प्रयोगको फरक रणनीति देखाएको छ। यसले अन्य अमेरिकी प्रविधि कम्पनीका लागि पहुँच सीमित गर्ने कडा नियामकीय अवरोध पार गर्न एप्पललाई सहयोग गर्नेछ।

यसले एप्पललाई चीनमा आफ्नै एआई मोडल उपलब्ध गराउन बेइजिङबाट स्वीकृति पाउने पहिलो विदेशी कम्पनी पनि बनाउनेछ। एआईका विषयमा अमेरिका र चीनबीच व्यापार तथा कूटनीतिक तनाव बढिरहेका बेला अमेरिकी र चिनियाँ प्रविधि कम्पनीबीच यस्तो सहकार्य दुर्लभ मानिएको छ।

चीनको इन्टरनेट नियामक साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले गत महिना एप्पलको जेनेरेटिभ एआई सेवालाई दर्ता गरेपछि लामो नियामकीय प्रक्रिया पूरा भएको थियो। यससँगै पहिलोपटक चिनियाँ आईफोनमा एप्पल इन्टेलिजेन्स उपलब्ध गराउने बाटो खुलेको थियो।

त्यस व्यवस्थाअन्तर्गत चीनमा बिक्री हुने एप्पल इन्टेलिजेन्सको संस्करणमा अलिबाबाको क्युएन मोडल समावेश गरिनेछ। यसले उपयुक्त आईफोन, आईप्याड, म्याक र भिजन प्रो मोडलमा काम गर्नेछ। रोयटर्सले जुलाईमा जनाएअनुसार उक्त सेवामा बाइडुको प्रविधि पनि समावेश गर्ने तयारी थियो।

गत साता एप्पलले चिनियाँ भाषामा एउटा गाइड सार्वजनिक गर्दै चीनको मुख्यभूमिमा रहेका योग्य म्याक प्रयोगकर्ताले क्युएनलाई आफ्नो सिरी डिजिटल सहायक र राइटिङ टुल्स सुविधासँग कसरी जोड्ने भन्ने जानकारी दिएको थियो।

चीनको एआई पीसी बजारमा प्रतिस्पर्धा गर्न यो म्याकका लागि विशेष व्यवस्था हुन सक्ने बताइएको थियो। तर एप्पलले पछि कुनै कारण नबताई उक्त गाइड हटाएको छ।

जुलाईमा एप्पलको एआई सेवा दर्ता भएको खबरपछि अमेरिकामा सूचीकृत अलिबाबाका सेयर बजार खुल्नुअघि करिब ४ प्रतिशतले बढेका थिए। यसले चीनको एआई प्रणालीमा एप्पल र अलिबाबाबीचको सहकार्यले ठूलो प्रभाव पार्न सक्ने लगानीकर्ताको अपेक्षा देखाएको थियो।

एप्पल र अलिबाबाबीचको सहकार्य पहिलोपटक फेब्रुअरी २०२५ मा पुष्टि भएको थियो। दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा अलिबाबाका अध्यक्ष जो साइले चीनमा एप्पलले आफ्ना फोनमा एआई सुविधा सञ्चालन गर्न चिनियाँ कम्पनीको एआई प्रयोग गर्ने बताएका थिए।

“उनीहरूले चीनका धेरै कम्पनीसँग कुराकानी गरेका थिए। अन्ततः उनीहरूले हामीसँग व्यवसाय गर्ने निर्णय गरे,” साइले त्यतिबेला भनेका थिए।

त्यसपछि एप्पलले आफ्ना सुविधालाई चिनियाँ नियमअनुकूल बनाउन काम गरेकाले सेवा सार्वजनिक गर्ने योजना ढिला भएको थियो। चीन एप्पलको व्यवसायका लागि महत्वपूर्ण बजार हो र कम्पनीको आम्दानीमा यसको ठूलो हिस्सा छ।

चिनियाँ आईफोनमा एआई सुविधा नहुनुलाई बिक्रीमा असर पार्ने कारणका रूपमा पनि उल्लेख गरिएको थियो। उपभोक्ताहरू बिल्ट-इन एआई सहायक भएका स्थानीय ब्रान्डतर्फ आकर्षित भएका थिए।

एप्पलले आफैं तालिम दिएको मोडलले तेस्रो पक्षका चिनियाँ एआई मोडलसँग कसरी काम गर्नेछ र त्यसको भूमिका के हुनेछ भन्ने कुरा भने तत्काल स्पष्ट भएको छैन।

प्रकाशित: ३० श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार