लगानीकर्ताले सेलेना गोमेजको मानसिक स्वास्थ्यसम्बन्धी स्टार्टअपविरुद्ध ठगीको आरोपमा दायर गरे मुद्दा

  • Technology Khabar | ३० श्रावण २०८३, शनिबार
लगानीकर्ताले सेलेना गोमेजको मानसिक स्वास्थ्यसम्बन्धी स्टार्टअपविरुद्ध ठगीको आरोपमा दायर गरे मुद्दा

काठमाडौं ।

गायिका तथा अभिनेत्री सेलेना गोमेज र उनकी आमाविरुद्ध उनीहरूको मानसिक स्वास्थ्यसम्बन्धी स्टार्टअप ‘वन्डरमाइन्ड’लाई लिएर मुद्दा दायर भएको छ। मुद्दा दायर गर्ने लगानीकर्ताले उक्त स्टार्टअपमा करिब १२ लाख अमेरिकी डलर लगानी गरेको र गोमेजमाथि धितोपत्र ठगी तथा सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

लगानीकर्ताले कम्पनीले आफूले गरेका प्रतिबद्धता पूरा नगरेको र यसबारे लगानीकर्तालाई जानकारी नदिएको आरोप लगाएका छन्। साथै, गोमेजले स्टार्टअपको प्रचार गर्ने प्रतिबद्धता जनाए पनि त्यसो नगरेको उनीहरूको दाबी छ। यो समाचार पहिलोपटक फोर्ब्सले प्रकाशित गरेको थियो।

वन्डरमाइन्ड सन् २०२१ मा सुरु भएको थियो। यसले प्रयोगकर्तालाई दैनिक मानसिक स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध गराउने लक्ष्य राखेको थियो। मुद्दामा गरिएको दाबीअनुसार, सन् २०२५ को सेप्टेम्बरमा ‘द कट’मा प्रकाशित समाचारले कम्पनीको समस्याबारे खुलासा नगरेसम्म लगानीकर्तालाई कम्पनीको अवस्थाबारे जानकारी थिएन।

मुद्दामा भनिएको छ, “गोमेजले आफूले काम गर्ने प्रतिबद्धतासहित सम्झौतामा हस्ताक्षर गरेको देखाइन् तर त्यसलाई बेवास्ता गरिन्। ती साझेदारीहरू अस्तित्वमै थिएनन्। ती पहलहरू कहिल्यै कार्यान्वयन भएनन्। एप पनि कहिल्यै निर्माण भएन। कम्पनी चुपचाप संकटमा पर्दै गएको तीन वर्षसम्म पनि त्यसका कुनै संस्थापक, अधिकारी वा सञ्चालकले कम्पनीको पतनमा लगानीकर्ताको पैसा प्रयोग भइरहेकोबारे उनीहरूलाई केही बताएनन्।”

लगानीकर्ताले गोमेज र वन्डरमाइन्डले कम्पनीको वित्तीय अवस्थाबारे गलत जानकारी दिएको तथा कम्पनीमा गोमेजको संलग्नताको स्तरलाई बढाइचढाइ गरेको आरोप लगाएका छन्। मुद्दा दायर गर्नेहरूले आफूले लगानी गरेको रकम र कानुनी खर्च फिर्ता मागेका छन्।

वन्डरमाइन्डले टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ नदिएको टेकक्रञ्चले उल्लेख गरेको छै।

 

प्रकाशित: ३० श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार