४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिने ‘उडान’ परियोजना

  • Technology Khabar | २८ श्रावण २०८३, बिहीबार
४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिने ‘उडान’ परियोजना

काठमाडौं ।

नेपाली युवालाई प्रविधिमार्फत अवसरसँग जोड्ने उद्देश्यले ‘उडान’ परियोजना सुरु भएको छ। परियोजनामार्फत युवालाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीप प्रदान गर्नुका साथै उत्कृष्ट युवालाई आफ्नो सोचलाई व्यवसायमा रूपान्तरण गर्न आर्थिक सहयोग र विज्ञको परामर्शसमेत उपलब्ध गराइनेछ।

नेपाली युवाको डिजिटल गतिशीलता र महत्वाकांक्षालाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको परियोजना नेपालका लागि यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा सार्वजनिक गरिएको हो।

आयोजकका अनुसार सातै प्रदेशमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४५ हजार युवाले डिजिटल सीप हासिल गर्ने अपेक्षा गरिएको छ।

यस्तै ४२० युवालाई उद्यम स्थापना गर्न सहयोग गर्ने र ८०० युवालाई उच्च शिक्षा पूरा गरेपछि निजी क्षेत्रमा प्रशिक्षार्थीका रूपमा रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १४ पालिकामा युवालाई अवसरसँग जोड्न इनोभेसन हब स्थापना गरिनेछ। युवालाई डिजिटल अर्थतन्त्रमा जोड्न देखिएका अवरोध पहिचान गर्नुका साथै नीतिगत सुधारका लागि बहस सञ्चालन गर्ने उद्देश्य पनि परियोजनाले लिएको छ।

यूरोपियन यूनियनको आर्थिक सहयोगमा युथ इन्नोभेशन ल्याबले हेफर प्रोजेक्ट नेपाल, नामी र विमेन इन एनिमेशनसँगको साझेदारीमा परियोजना सञ्चालन गर्नेछ।

परियोजनाअन्तर्गत सञ्चालन हुने ‘पाठशाला’ कार्यक्रममार्फत युवालाई एआई, कोडिङ तथा एनिमेसनलगायतका डिजिटल सीप निःशुल्क सिकाइनेछ।

त्यस्तै, ‘कार्यशाला’ अन्तर्गत युवाका उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यले प्रदेश तथा राष्ट्रियस्तरमा ह्याकाथन र उद्यमशीलता प्रवर्द्धनका लागि बुटक्याम्प आयोजना गरिनेछ।

परियोजनाको अर्को अंग ‘कर्मशाला’ मार्फत उच्च शिक्षा पूरा गरेका युवाले निजी क्षेत्रमा प्रशिक्षार्थीका रूपमा रोजगारी पाउँदै आफ्नो सीप निखार्ने अवसर पाउनेछन्।

त्यस्तै ‘नीतिशाला’ अन्तर्गत स्थानीय सरकारका पाठ्यक्रममा कोडिङ, एआईलगायतका प्राविधिक विषय समावेश गर्न पहल गरिनेछ। युवालक्षित प्राविधिक शिक्षामा योगदान पुर्‍याउँदै नीतिगत सुधारका लागि समेत परियोजनाले काम गर्नेछ।

परियोजना सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपालमा विशेषगरी ग्रामीण क्षेत्रका युवा अझै पनि पर्याप्त अवसरबाट वञ्चित रहेको बताइन्।

‘अझै पनि काठमाडौं उपत्यकाबाहिरका कम पहुँच भएका युवाहरू अवसरसँग जोडिन सकेका छैनन्,’ उनले भनिन्, ‘जोखिममा रहेका समूहको अवस्था पनि उस्तै छ। दुर्भाग्यवश, मैले प्रतिनिधित्व गर्ने देशको आधा जनसंख्या ओगट्ने महिलाहरूको पनि अवस्था उस्तै छ।’

परियोजनाले अवसरबाट वञ्चित युवालाई प्रविधिको ज्ञान प्रदान गर्दै विभिन्न अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन्।

कार्यक्रममा सहभागी युवाले आफूलाई आवश्यक डिजिटल सीपसम्बन्धी तालिममा सहभागी हुन इच्छा व्यक्त गरेका थिए।

परियोजनाको नेतृत्व गरिरहेको युथ इन्नोभेशन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले अवसरको अभाव नै युवाका लागि मुख्य चुनौती रहेको बताए। परियोजनाले युवालाई प्राविधिक रूपमा दक्ष बनाउँदै अर्थतन्त्रमा योगदान पुर्‍याउने गरी अवसरसँग जोड्ने लक्ष्य लिएको उनले बताए।

‘अवसर भएन भनेर मात्र भएन, कसैले त केही गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यसैले हामी आफैंले नेतृत्व लिएर अघि बढेका हौं।’

परियोजनाले अब देशभरका युवासम्म पुगेर उनीहरूलाई प्रविधिमार्फत विभिन्न अवसरसँग जोड्ने गतिविधि सुरु गर्ने कार्यक्रम निर्देशक गोमा कार्कीले बताइन्।

प्रकाशित: २८ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...